बागमती प्रदेशमा फेरि मन्त्रालय फुटाइयाे, पुगे १४ मन्त्री
वागमती प्रदेश सरकारमा फेरि मन्त्रालय फुटाएर १४ मन्त्रालय बनाइएको छ ।
गत साउनमा मात्र मुख्यमन्त्री बनेका लामाले मंगलबार एउटा मन्त्रालय टुक्र्याएर १४ पुर्याएका हुन् । कांग्रेसबाट विनाविभागीयमन्त्री नियुक्त भएका मदुकुमार श्रेष्ठका लागि मुख्यमन्त्री लामाले पर्यटन तथा सहकारी मन्त्रालय टुक्र्याए । श्रेष्ठले नियुक्तिको ११२ दिनपछि गरिबी निवारण तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संविधानअनुसार मन्त्रालयको संख्या थपेको बताए । ‘संविधानले दिएकै अधिकार प्रयोग गरेर मन्त्रालयको संख्या थपेका हौँ । प्रदेशमा रहेको पर्यटन तथा सहकारी मन्त्रालय कता–कता नमिलेजस्तो पनि भइरहेको थियो । बागमती प्रदेशमा सहकारी समस्या पनि धेरै भएकाले त्यो समस्या समाधानका लागि प्रदेशका तर्फबाट विशेष भूमिका होस् भनेर पनि छुट्टै मन्त्रालय बनाउने निष्कर्षमा हामी पुगेका हौँ,’ उनले भने, ‘अब सहकारीको समस्या समाधानका लागि नयाँ बनेको मन्त्रालय सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रभावकारी भूमिका खेल्छ भन्ने विश्वास लिएका छौँ ।’
माओवादी संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालय टुक्र्याउनु गैरजिम्मेवारी भएको बताए । ‘यो सरकार गैरजिम्मेवार छ । बहुमतको नाममा जे गर्दा पनि हुन्छ भन्ने लागेको छ । त्यसकै परिणाम हो १४ मन्त्रालय बनाउनु,’ उनले भने, ‘संसद्का दुई ठुला दलको सरकार हुँदा त मन्त्रालय घट्नुपर्ने हो । उहाँहरूले ७ वटा मन्त्रालयमा झार्नुपर्ने हो । विगतमा जस्तो ४–५ वटा दलहरू मिलेर बनेको सरकार होइन । तर, उहाँहरूमा जवाफदेहिता नै छैन ।’