रास्वपा सभापति लामिछानेलाई बुटबल लगिँदै, रूपन्देहीमा रास्वपाले भद्र विराेध प्रदर्शन गर्ने

मूलखबर संवाददाता
पाेखरा, २७ कात्तिक २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि कास्कीबाट रुपन्देहीको बुटवल लगिँदैछ । सहकारी ठगी आराेपमा काठमाडौंबाट पक्राउ गरि पाेखरा लगेर म्याद थप्दै हिरासतमा राखिएका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई बुद्ध एयरको विमानमार्फत बुटबल लैजान लाग्दा माैसम ठीक नभएकोले उडान हुन नसकेको प्रहरीले बताएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आराेप लागेका लामिछानेलाई बयानका लागि आज रुपन्देही लगिएकाे प्रहरीले बताएको छ ।

लामिछानेको गिरफ्तारी राजनीतिक पुर्वाग्रह भएको भन्दै रास्वपाले लगातार विराेध प्रदर्शन गरिरहेको छ ।

लामिछानेलाई भैरहवा ल्याए लगत्तै आजै बयान सुरु गरिने रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिएका छन् । जति सक्दो छिटो बयान सकेर लामिछानेलाई पोखरा नै पठाइने उनले बताए ।

कात्तिक २ गते सहकारी ठगीको आरोपमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार १३ दिनको म्याद थप गरेको थियो । कास्कीमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्दामा अनुसन्धान भइरहेको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकममध्ये १४ करोड  २९ लाख रुपैंयाँ जिवी राइ, छविलाल जोशी, रवि लामिछानेको समूहले गोर्खा मिडियामा लगेर अपचलन गरेको मुद्दा रुपन्देहीमा छ ।

लामिछानेलाई बुटबल लैजाने क्रममा पाेखरा विमानस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको थियाे भने रास्वपा नेता कार्यकर्तासहित नागरिक समाजले पाेखरामा विराेध प्रदर्शन गरेका थिए ।

लामिछानेको रिहाइको माग गर्दै रूपन्देही र बुटबलमा पनि विराेध प्रदर्शनकाे तयारी रास्वपाले गरेको छ ।