उपनिर्वाचनमा माओवादी एकल भिड्ने, पालिकामा केन्द्रीय पदाधिकारी र वडामा केन्द्रीय सदस्य परिचालित हुने
उपचुनावकाे मिति नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एकल चुनावमा जाने निर्णय गरेको छ । लामाे समयदेखि माओवादीले गठबन्धनका आधारमा चुनाव लडिरहेको अवस्थामा यसपटक उपनिर्वाचनमा एकल लड्ने निर्णय हिजाे बसेकाे पदाधिकारी बैठकबाट गरेको हाे ।
माओवादीले विभिन्न पालिकाका रिक्त ३४ वडाध्यक्षका उम्मेदवार पनि माओवादीले टुंगो लगाएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा उपनिर्वाचनमा सफलता हासिल गर्न योजनाबद्ध कार्यक्रम बनाउने निर्णय भएको जानकारी दिएका थिए ।
माओवादीले पालिकाको चुनावी प्रचारमा केन्द्रीय पदाधिकारी पठाउने निर्णय गरेको छ । वडाको चुनाव प्रचारमा केन्द्रीय सदस्य सहभागी हुनेछन् । माओवादीले कात्तिक मसान्तसम्म उपनिर्वाचन हुनेलगायत सबै पालिकामा सम्मेलन गरिसक्ने निर्णय गरेको छ ।
माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष उम्मेदवारमा नामेनारायण माझी, काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा शिवशरण महर्जन, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा निमलेकी शेर्पा, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्षमा ज्ञानदेवी पुन, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने र दैलेखको महाबु गाउँपालिका अध्यक्ष उम्मेदवारमा जंग बराललाई अनुमोदन गरेको छ ।
रिक्त भएका स्थानहरूमा आगामी मंसिर १६ गते निर्वाचन हुँदैछ । माओवादीले एकल निर्वाचन लडेर आफ्नो वास्तविक मत प्राप्त गर्न खाेजेकाे देखिन्छ ।