
फेरि पनि दुर्घटना : बागलुङको जैमिनीमा भ्यान खस्दा ५ को मृत्यु, सबैको सनाखत
सडक दुर्घटना दैनिक बढिरहेका छन् । प्रत्येक दिन सडक दुर्घटनामा ज्यान गुमाउने नागरिकको संखया थपिइरहेको छ । आज बिहान मात्रै बागलुङको जैमिनी ७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान आज बिहान दुर्घटना भएको थियो ।
भ्यान सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालले मृत्यु भएका ५ जनाकै सनाखत भएको बताएको छ । सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् ।
भ्यानमा सवार ६ जनामध्ये एक जना घाइते छन् । ४५ वर्षीय गङ्गाबहादुर श्रीष घाइते भएको र उनलाई उद्धार गरेर उपचारका लागि धौलागिरि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
