उदघाटनकाे दुई वर्षपछि भैरहवामा अन्तर्राष्ट्रिय उडानकाे लाइन, पाउला त निरन्तरता ?
भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा उद्घाटनको साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय उडानकाे लाइन शुरू भएको छ । तीनवटा एयरले अन्तर्राष्ट्रिय उडान गर्न शुरू गरेपछि बल्ल भैरहवास्थित गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र गुल्जार बनेको छ । शनिबार एकै दिन तीन वायुसेवा कम्पनी कुवेतको जजिरा एयरवेज, युएईको फ्लाई दुबई र नेपाल वायुसेवा निगमले भैरहवामा उडान भरेका थिए ।
यसअघि थाई एयर एसियाले १८ कात्तिकदेखि नै बैंकक–भैरहवा–बैंकक सातामा दुईवटा उडान थालेको थियो । त्यस्तै, कतार एयरवेजले २७ कात्तिकदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडानको तयारी गरेको छ ।
कतारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पेस गरिसके पनि काठमाडौंमा अवतरण गर्ने समय नमिलेर तालिका स्वीकृत हुन नसकेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । सातामा तीन उडान भर्ने जजिराले भैरहवामा सिधा उडान सुरु गरेको छ । नेवानिले काठमाडौं–भैरहवा–दुबई तथा फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान सुरु गरेको क्यानले जनाएको छ ।
‘अब सातामा एयर एसिया, जजिरा, फ्लाई दुबई र नेवानिका गरी १७ अन्तर्राष्ट्रिय उडान हुनेछन्,’ गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले भने, ‘कतारको पनि थपिँदा उडान संख्या २४ पुग्नेछन् ।’ त्रिभुवन विमानस्थलमा उडान कटौती भएपछि स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवालाई वैकल्पिक विमानस्थल बनाउन थालेका छन् ।
शनिबार बिहान जजिराको जहाज फुल अकुपेन्सी यात्रु बोकेर भैरहवा अवतरण गरेको थियो । भैरहवा विमानस्थल उद्घाटनको दिन २ जेठ ०७९ देखि केही महिना उडान गरेर बन्द गरेको जजिराले पुनः उडान थालेको हो । जजिराको नोभेम्बरभरि फुल अकुपेन्सी रहेको एक प्रतिनिधिले बताए ।
यस्तै, दिउँसो २ बजेतिर अवतरण गरेको फ्लाई दुबईको जहाजबाट १० जना यात्रु भैरहवा ओर्लिए भने काठमाडौंमा ओर्लिने यात्रु डेढ सय थिए । नेवानिले राति काठमाडौंबाट भैरहवा हुँदै दुबईका लागि उडान गरेको छ । काठमाडौंबाट उडेको निगमको जहाज राति १०ः२० भैरहवामा अवतरण गरी ११ः२४ मा दुबईका लागि उडान गर्ने तालिका छ ।
विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरू भएसँगै देखिएकाे यस क्षेत्रकाे गुल्जार कायम रहिरहन्छ कि टुट्छ भन्ने प्रश्न उठेको छ । काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे अवधिभर मात्रै हाे कि सधैंका लागि हाे भन्ने कुरा सरकारकाे नीति, व्यवसायीहरूकाे व्यवहार र भैरहवा क्षेत्रका सबै व्यवसायी तथा लुम्बिनीको आकर्षणमा भर पर्दछ ।