मानव तस्कर अभियोगमा एमाले नेता तथा पुर्वमन्त्री अधिकारी पक्राउ
सत्तारुढ दल नेकपा एमालेका नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं ल्याउने तयारी छ ।
कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले पनि अधिकारीलाई काठमाडौं पठाउन लागिएको पुष्टि गरे । कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।
मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।