गण्डकी प्रदेशकाे बनमन्त्री बने लमजुङका भेषबहादुर पाैडेल

मूलखबर संवाददाता
पाेखरा, ५ कात्तिक

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेलले जिम्मेवारी पाउन सफल भएका छन् ।

लामो समयदेखि रिक्त रहेको मन्त्रालयमा पौडेललाई मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सोमबार नियुक्त गरेका हुन् । योसँगै गण्डकी सरकारले पूर्णता पाएको पाउने छ ।

भौतिक मन्त्रालयबाट राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उनले तत्कालै राजीनामा दिएका थिए । भागबन्डा मिलाउन सात बाट मन्त्रालय फुटाएर नौ बनाएपछि कांग्रेसको भागमा परेको पाँच मन्त्रालयभित्रबाट भदौ १७ गते मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीमा निरन्तरता दिएका थिए ।

भेषबहादुर लुमजुङ प्रदेश सभा क्षेत्र नम्बर २ मा एमालेका कृष्णप्रसाद अधिकारीलाई हराउँदै संसद छिरेका हुन् । भेषबहादुरसँग पराजय खेपेका कृष्णप्रसाद, खगराज पछिल्लो पटक मुख्यमन्त्री हुँदा मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए ।

२०४६ सालको राजनीतिक आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट विद्यालय कमिटीबाट राजनीति थालेका भेषबहादुर लमजुङ सदरमुकाम वेशीशहरकै व्यवसायी हुन् । वेशीशहर नगरपालिका वडा नम्बर २ निवासी भेषबहादुर होटल व्यवसायी समेत हुन् ।