संकटग्रस्त पालीकाका बाढीपीडितलाई ३ महिनाभित्रमा पुनर्स्थापना

मूलखबर संवाददाता
काठमाडौं, २२ असाेज

विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहका बाढीपहिरोपीडितलाई तीन महिनाभित्रमा पुनर्स्थापना गर्ने योजना बनाएको छ ।

प्राधिकरणका सहसचिव वसन्त अधिकारीले पुनर्स्थापना र पुनर्निर्माणको काम तीव्र बनाउने उद्देश्यले सरकारले विपत् सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेकाले सो अवधिमा पुनस्र्थापनाका काम सम्पन्न गर्ने र पुनर्निर्माणलाई तीव्र पारिने बताउनुभयो ।

सरकारले शुक्रबार बाढीपहिरोबाट क्षतिग्रस्त भएका ४३ स्थानीय तहलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा हुने पालिकाको सङ्ख्या भने अझै बढ्न सक्ने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सहसचिव अधिकारीले भन्नुभयो, “सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तह केन्द्रित भई राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई तीव्र पारिने छ । त्यसका लागि केही दिनभित्रै योजना सार्वजनिक गरिन्छ ।”

सरकारसँग पुनस्र्थापना र पुनर्निर्माणका लागि पर्याप्त बजेट नभए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाएर पुनस्र्थापना र पुनर्निर्माण तीव्र पारिने अधिकारीले बताउनुभयो ।