तीन अनलाइन कालोसूचीमा, ४३ युट्युब कारबाही गर्न प्रहरीलाई पत्राचार

मूलखबर संवाददाता
काठमाडौं

प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारबाहीका लागि पठाएको हो । काउन्सिलले सञ्चारमाध्यमका रूपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारबाहीका लागि प्रहरीमा पठाउँदै आएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय गरेको हो ।

पत्रकारिताको मूल्य मान्यता अनुरूप पत्रकारिता गर्ने उद्देश्यका साथ सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउने उद्देश्य साथ काउन्सिलले कार्यविधि बनाई काम गर्दै आएको छ । हाल युट्युब च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासाहरू बढ्दै गएको सन्दर्भमा कार्यविधि बनी नियमन गर्न थालिएको काउन्सिलले जनाएको छ ।

विज्ञप्तिमा मिडिया अन्तर्गत सञ्चालनमा रहेका तर आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन सञ्चारमाध्यमलाई हटाउन निर्देशन दिई सचेत गराइएको, अरू ५ वटा माध्यमका विवादास्पद सामग्री हटाइ स्पष्टीकरण सोधिएको उल्लेख छ ।

त्यस्तै, ४ वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवं सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

विधिवत् रूपमा सञ्चालनमा नआई सामग्री सम्प्रेषण गर्ने तर पटक पटक सचेत गराउँदा पनि अवज्ञा गर्ने एक वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ । त्यस्तै, विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका अनलाइन पाना डटकम, स्वास्थ्य लाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डट कम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानी गरेको जनाएको छ । विभिन्न खालका कारबाहीमा परेका सबै सञ्चारमाध्यमको विस्तृत विवरण काउन्सिलले आफ्नो वेबसाइटमा समेत राखेको छ ।

कारबाहीमा परेका सञ्चार माध्यम एवं सामाजिक सञ्जालहरु

कारबाहीमा परेका सञ्चार माध्यम एवं सामाजिक सञ्जालहरु

 

अवज्ञाकारी/कालोसूचीमा रहेका सञ्चार माध्यमहरू – २०८१ /८२