काभ्रे पनाैती कुसादेवीका बाढीपहिराेपीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण

मूलखबर संवाददाता
काठमाडौं, १९ असाेज

बाढी पहिराेले सबैभन्दा धेरै जनधनकाे क्षति भएको काभ्रे जिल्लाकाे पनाैती नगरपालिका वडा नं २ र ३ का पीडित स्थानियवासीलाई खाद्यान्न तथा लत्ताकपडा राहतस्वरूप वितरण गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) काभ्रेकाे समन्वयमा प्रतिनिधिसभा सदस्य उर्मिला माझी र रूपा साेसी चाैधरीकाे पहल र उपस्थितिमा पीडित स्थानियवासीलाई भेट गरि वडाका जननिर्वाचित प्रतिनिधिमार्फत शनिबार राहत वितरण गरिएको हाे ।

साे अवसरमा पहिराेबाट घर क्षती भएका १०० घरका पीडितलाई राहत उपलब्ध गराइएको माओवादी काभ्रेका सचिव दैबलाल घिसिङले बताए । उनले बाढी र पहिराेले बीचल्ली भएका त्यस क्षेत्रका स्थानियवासीले हालसम्म कतैबाट पनि सहयाेग नपाएको अवस्थामा पहिलोपटक खाद्यान्न र लत्ताकपडा उपलव्ध गराएकाे जानकारी दिए । साे क्रममा खाद्यान्न र करिब ३ सय थान लत्ताकपडा उपलब्ध गराइएको हाे ।

मारवाडी समुहले पनि साे अवसरमा खाद्यान्न प्याकेज उपलब्ध गराएकाे थियाे ।  `हामीले पहिलोपटक यसरी सहयाेग पाइयाे´ – स्थानिय ३ नं वडाका वडासदस्य चन्द्रबहादुर तामाङले भने । उनलेे त्यस क्षेत्रमा स्थानियकाे लागि त्रिपाल आवश्यक रहेकाे बताए । वडा नं २ का पीडित स्थानिय कुल प्रसाद घिमिरेले आफ्नो घरबास नै ध्वस्त बनाएकाे बताउँदै १० लाख सम्म आलु बेच्ने गरेको तर यसपटकको बाढी पहिराेले नामाेनिसान रहने गरि ध्वस्त पारेकाे पीडा सुनाए ।

स्थानीय जनप्रतिनिधि, माओवादी पार्टी नेताहरूले सांसदहरूसँग त्यस क्षेत्रमा विस्थापितहरूकाे लागि घर निर्माण गर्न तथा अध्ययन गरि बस्ती नै सुरक्षी ठाउँमा सार्नकाे लागि व्यवस्था गर्न माग गरेका थिए । साे क्रममा प्रेस सेन्टर नेपालका महासचिव सन्ताेष पाैडेल, वाइसीएल केन्द्रीय सदस्य वर्षा राना,अनेमसंघ काभ्रेका नेता सिर्जना थिङ, मनिता थिङ, वाइसीएल जिल्ला अध्यक्ष ललन तामाङ, माओवादी नेता रमेश हुमागाइँ, हस्त तामाङलगायतकाे सहभागिता रहेकाे थियाे ।

साे अवसरमा सांसदद्वयले पहिराेले घर पुर्दा ज्यान गुमाएका वडा नं २ का  एकैघरका आमा सीता सापकाेटा र छाेरा निर्मल सापकाेटाकाे परिवारलाई भेट गरी समवेदना प्रकट गरेका थिए ।