
विपी राजमार्गको ४ ठाउँमा डाइभर्सन बनाईँदै
लगातारको वर्षा र बाढिपहिराेले ध्वस्त बनेकाे काठमाडौंर पुर्वी तराई जाेड्ने छाेटाे राजमार्गकाे रूपमा परिचित बिपी राजमार्गको विभिन्न खण्डमा मंगलबारबाट डाइभर्सन सुरु भएको छ । राजमार्ग नियमित सञ्चालन गर्न बाढीले बगाएर पहिरोले पुरेको स्थानमा डाइभर्सन सुरु भएको हो ।
सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादका अनुसार बिपी राजमार्ग सञ्चालन गर्नका लागि तीन ठाउँबाट काम भइरहेको छ ।
राजमार्गको चौकीडाँडामा दुईवटा हेभी इक्विपमेन्ट प्रयोग भएको छ भने डालाबेँसीमा एउटा र सिन्धुली–काभ्रेको सीमा माम्तीमा दुईवटा मेसिनबाट डाइभर्सनका लागि काम सुरु गरेको इजिनियर प्रसादले जानकारी दिए ।
दाप्चा एक नम्बर पुलमा दुई सय ५० मिटर सडक भत्किएकोमा त्यसलाई बनाएर सडक सञ्चालन भइसकेको उनले जानकारी दिए । यसपछि चौकीडाँडामा रोसीखोला र चरंगेफेदी दोभानबाट पारी मेसिन तारेर डाइभर्सनको काम भइरहेको उनले बताए ।
बिपी राजमार्गको डालाबेँसीमा करिब पाँच सय मिटर सडक बगाएको छ । त्यहाँ पनि सोमबार दिउँसोबाट डाइभर्सनसम्बन्धी काम सुरु भइसकेको छ । डालाबेँसीमा खटिएका सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार सोमबार दिउँसोबाट दुईवटा मेसिनले सडक डाइभर्सन गरिरहेका छन् ।
सडक जतिसक्दो छिटो सञ्चालन गर्ने गरी दिनरात लागिपरेको लामाले जानकारी दिए । मंगलबार बेलुकी ८ बजेसम्ममा करिब आठ सय मिटरजति सडक डाइभर्सन गरेको उनको भनाइ छ ।
