सर्पदंशका कारण ज्यान गुमाउनेकाे संख्या बढ्दै

मूलखबर संवाददाता
काठमाडौं, ९ असाेज

गर्मी र वर्षा बढेसँगै तराईमा सर्पले टाेकेर ज्यान गुमाउनेकाे दर कम भएको तथ्यांक राष्ट्रियस्तरमा आइरहेका बेला बाँकेमा भने यस्तो देखिएकाे छैन ।

उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ।

यस वर्ष वैशाखदेखि हालसम्म अस्पताल आउँदाआउँदै र उपचारकै क्रममा सर्पदंशका १६ बिरामीको ज्यान गएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डेले जानकारी दिए।

समयमै सर्पले टोकेको थाहा नपाउँदा अस्पताल ल्याउन ढिलाइ भएका कारण उपचार नपाउँदा उनीहरूको मृत्यु भएको डा पाण्डेको भनाइ छ। पश्चिम नेपालका विभिन्न जिल्लाबाट प्रेषण भएका बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालले यस वर्ष विषालु सर्पले टोकेका १२० जनाभन्दा बढी बिरामीको उपचार गरेको छ।

सर्पदंशको उपचार हुने नेपालगञ्जस्थित भेरी अस्पतालमा सर्पले टोकेका बिरामीको चाप पछिल्लो समय बढेको छ। कहिलेकाहीँ सर्पदंशका बिरामीले नै अस्पतालको आकस्मिक कक्ष र आईसीयू वार्ड भरिने गरेको भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताए।

उनका अनुसार भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालबाट सर्पदंशका बिरामी प्रेषण भएर आउने गरेका छन्।