
इलाममा पत्नीको हत्या गरी राईले गरे आत्महत्या
इलामको सन्दकपुर गाउँपालिका– १ भित्तेमा एक व्यक्तिले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
भित्तेका ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीय पत्नी फूलकुमारी राईलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको र उजबहादुरले झुन्डिएर आत्महत्या गरेको भेटिएको इलामका एसपी प्रभुप्रसाद ढकालले बताउनुभयो ।
घटनास्थलमै रहनुभएका एसपी ढकालले घटना हिजो रातीको जस्तो देखिएको बताउनुभयो । सन्दकपुर–१ भित्तेमा एकान्त स्थलमा घर भएका उनीहरूको घरभन्दा मुनिपट्टि बाटो रहेको बाटोभन्दा तल फूलकुमारीको शव रगतपच्छे अवस्थामा भेटिएको ढकालले जानकारी दिनुभयो ।
ढकालका अनुसार फूलकुमारीको टाउको पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको देखिएको छ । अहिले घटनास्थलको अनुसन्धान भइरहेको जनाइएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि आजै इलाम ल्याइने जनाइएको छ ।
राई दम्पतीका दुई छोरामध्ये एक छोरा विदेशमा र एक छोरा फिक्कलमा रहेको बुझिएको एसपी ढकालले बताउनुभयो ।
