बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्‍याे : अध्यक्ष दाहाल

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताउनुभएको छ ।

आइतबार बिहान झापाको बिर्तामोडमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गिरीबन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ बिघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताउनुभयो ।

आइतबार बिहान सोही ५१ बिघा जग्गामा भारतीय दूतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका थिए । स्थानीयवासीको ज्ञापन पत्र बुझ्दै दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सायद मैले यिनै बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो । तर अब सडकबाट भए पनि, सदनबाट भए पनि, सरकारबाट भए पनि तपाईंहरुलाई न्याय दिलाउनेछु ।”

‘मर्निङ वाक’मा निस्किनुभएका दाहाललाई स्थानीयले ज्ञापनपत्र बुझाएपछि उहाँले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताउनुभयो ।