कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, नयाँ मन्त्रीले लिए शपथ

मूलखबर संवाददाता
काठमाडौं

कांग्रेस–एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि मन्त्रिमण्डल विस्तार गरिएको छ ।

आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेसंगै प्रदेश प्रमुख पर्शुराम खापुङले आज बिहान पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ । यद्यपि अझै एक मन्त्रालय भने खाली राखिएको छ ।

नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुगेको छ ।

कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरूमध्ये राई र राजवंशी नेता कृष्ण सिटौला समूहबाट र हाङ्गाम र मण्डल संस्थापन समूहबाट छानिएका हुन् । नेता डाक्टर शेखर कोइराला समूहका लागि १ जना मन्त्री र १ राज्यमन्त्री बनाउने बताइएको छ । यद्यपि उक्त समूहबाट नाम नगएकोले स्वास्थ्य मन्त्रालयलाई खाली राखेर अरू मन्त्री नियुक्त भएका हुन् ।

यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसकेका छन् ।

 

mantri2