
यो वर्ष पनि शिक्षा पदक नपाउने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउँदैछ ।
दिवसको अवसरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरूलाई सम्मान पनि गरिँदैछ । त्यसका लागि मन्त्रालयले आवेदन समेत माग गरेको छ । र तोकिएको मापदण्ड पुरा गरेका व्यक्ति तथा संस्थाहरूको तर्फबाट आवेदन समेत परेको छ ।
तर मन्त्रालयले प्रदान गर्ने विभिन्न पदक यो पटक पनि घोषणामै सिमित हुने देखिएको छ ।
अर्थ मन्त्रालयले पदकका लागि आवश्यक बजेट नदिँदा घोषणामै सिमित हुने देखिएको हो । मन्त्रालयले नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग गरेको थियो ।
तोकिएको विभिन्न सर्तहरू पुरा गरेको व्यक्तिलाई भदौ १६ गते भित्र आवेदन दिन भनेको थियो । सोही आधारमा आवेदन परेका थिए । तर, बजेटको अभावमा ति पदकहरू दिन नसकिने मन्त्रालयले जनाएको छ ।
