
‘हिंसा’ शव्दलाई संसदको रेकर्डबाट हटाउन नमानेपछि माओवादीद्वारा संसद अवरुद्ध
‘हिंसा’ शब्दमा नेकपा एमाले र माओवादी केन्द्रको विवाद भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसदको विशेष समयमा बोल्ने क्रममा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओवादी केन्द्रले त्यो शब्द रेकर्डबाट हटाउन माग गरेको थियो।
सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा ‘हिंसा’ भन्ने शब्द असंसदीय नरहेको र रेकर्डबाट हटाउन नपर्ने भनेर निर्णय सुनाएपछि माओवादी विच्किएको हो।
‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भदौ १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र संसद सचिवालयको रायका आधारमा विषय, प्रसंग र प्रस्तुतीलाई विचार गर्दा हिंसा शब्द असंसदीय नदेखिएका कारण रेकर्डबाट हटाउनु नपर्ने व्यहोरा जानकारी गराउँछु।’ सभामुख घिमिरेले सुनाएका थिए।
घिमिरेले पछिल्लो कतिपय अवस्थामा प्रतिकात्मक रुपमा शब्दहरु प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेको पाइए भन्दै शब्द चयनमा ख्याल गर्न पनि सांसदहरूलाई रुलिङ गरेका थिए।
तर नेकपा माओवादी केन्द्रले संविधान विपरीत निर्णय गरिएको भन्दै आफूहरूलाई मान्य नहुने बताएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाई होच्याइएको भन्दै सभामुखले निर्णय आफूहरूलाई मान्य नहुने बताएका छन्।
त्यसपछि एमाले र माओवादीका सांसदबीच भनाभन चल्यो। भनाभन नसकिएपछि संसद चलाउन सक्ने अवस्था नभएको भन्दै सभामुख घिमिरेले बैठक भदौ ३० गते आइतबार बस्नेगरी स्थगित गरेका हुन्।
