ओली नेतृत्वको सरकार षडयन्त्रको उपज हो: देव गुरुङ

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विश्व राजनीतिक अहिले विघटनको संघारमा पुगेको बताउनु भएकोछ । सदरमुकाम गाईघाटमा आइतबार बिहान पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी प्रवक्तासमेत रहेका सापकोटाले सो कुरा बताउनु भएको हो । अहिले विश्वमा प्रविधि उपनिवेशवाद लागू भएको भन्दै प्रविधिकै माध्यमबाट विश्वयुद्ध हुनसक्ने खतरा छ, उपाध्यक्ष सापकोटाले भन्नु भयो ‘अहिले विश्व प्रविधि उपनिवेशवादको कब्जामा छ, ‘प्रविधिकै प्रयोगबाट विश्वयुद्धको तयारी भइरहेको छ, अर्कातिर प्रविधिले मान्छेको दिमाग छरपस्ट पारेर एकत्रित हुन दिइरहेको छैन ।’

कार्यक्रममा पार्टी महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार देशी विदेशी षडयन्त्रको उपज भएको बताउनु भएको छ । माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई एकपछि अर्को कारबाही गर्नुका साथै सुशासनको अनुभूति गराउन थालेपछि आत्तिएका भ्रष्ट, तस्कर र दलालहरूले दुई ठुला दलहरू काँग्रेस र एमालेलाई मिलाएर पश्चगामी सरकार बनाएको बताउनु भयो ।

‘प्रचण्ड नेतृत्वको सरकारले एकपछि अर्को भ्रष्टाचारका फाइल खोल्दै धमाधम कारबाही गर्न थालेपछि उनीहरु आत्तिए’ महासचिव गुरुङले भन्नुभयो ‘त्यसपछि तस्कर, भ्रष्ट र देशी विदेशी दलालहरू मिलेर एमाले र काँग्रेसको गठबन्धन बनाई ओलीलाई प्रधानमन्त्री बनाएका हुन् ।’ त्यसैले ओली सरकार देश, जनता र विकासका निम्ति घातक भएको छ।

अहिले मुलुक महाशंकटमा आइपुगेको भन्दै महासचिव गुरुङले यस्तो बेला चट्टानी अडानका साथ माओवादीहरू एककृत भएर अघि बढ्नुपर्ने खाँचो भएको औँल्याउनु भयो । शंकट परेका बेला आत्तिने होइन, दृढ संकल्पका साथ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँको जोड छ । ‘खराबभन्दा झन् खराबका लागि तयार हुने र राम्रोभन्दा राम्रोका लागि तयारी गर्ने’ ‘त्यसैले जस्तो सुकै खराबका लागि पनि तयार भएर जुट्दै राम्रो र उत्तम परिणामका लागि तयार रहन माओको भनाई उद्धृत गर्दै महासचिव गुरुङले कार्यकर्तालाई निर्देशन दिनुभयो ।