सुनिता र बेरीलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा आयाे यान

मूलखबर संवाददाता
काठमाडौं, २२ भदौ

आफुमा सवार यात्रीहरु सुनिता विलियम्स र बेरी विल्मोरलाई अन्तरिक्षमै छाडेर बोइङको स्टारलाइनर अन्तरिक्ष यान पृथ्वीमा अवतरण भएको छ ।बीबीसीले बिना यात्रु पृथ्वी फर्किएको यान न्यू मेक्सिकोको मरुभूमिमा अवतरण गरेको जनाएको छ ।

दुबैजना यात्रीसहित आठ दिनमा फर्कने गरी गएको जुन ५ तारिखमा अन्तरिक्षका लागि उडेको यान झन्डै तीन महिना ढिला गरी यात्रीबिनै फर्किएको हो । हिलियम चुहावटका कारण यात्री बिनै फर्किएको स्टारलाइनर पृथ्वीमा कुनै समस्या बिना आइपुगेकोे अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले जनाएको छ ।

अन्तरिक्ष यानले न्यू मेक्सिकोको स्थानीय समयअनुसार शुक्रवार राति ११ बजे झन्डै २७ हजार चार सय किलोमिटर प्रति घन्टाको कक्षीय गतिको साथ पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेको थियो । झन्डै ४५ मिनेटपछि, यानले आफ्नो अवतरणको गतिलाई कम बनाउन केही प्यारासुटहरू प्रयोग गरेको थियो । अवतरण हुनु अघि हावा भरिएका एयरब्याग फुलाएका थिए ।