त्रिविमा सत्तारूढ दलका विद्यार्थीकाे गुन्डागर्दी राेक्न सांसदहरूकाे माग

मूलखबर संवाददाता
काठमाडौं, ७ भदौ

त्रिभुवन विश्वविद्यालयमा सत्तारूढ दलबाटै भएको गुन्डागर्दी र राजनीतिक आतंक बन्द गर्न सांसदहरूले माग गरेका छन् ।

प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठकमा प्रधानमन्त्री के पी ओलीकै सामुन्ने साे विषय राखेका हुन् । संसद बैठकमा बाेल्दै माओवादी केन्द्रका सांसद राजन दाहाल, नारायणी शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले, नेमकिपाका सांसद प्रेम सुवाल लगायतले त्रिविमा भएको गुन्डागर्दी राेक्न माग गरेका हुन् ।

सुरक्षा थ्रेटकै कारण त्रिविका पदाधिकारी कार्यालय जान नसक्नुमा सरकार र सत्तारूढ दलको कमजोरी भएको उनीहरूको आरोप छ ।

सत्तारूढ दलनिकट विद्यार्थी नेताले त्रिवि पदाधिकारीलाई धम्क्याएको घटनालाई लिएर संसद्मा प्रधानमन्त्री ओलीको आलोचना भएको छ । त्रिविमा राजनीतीकरण गर्न प्रधानमन्त्री ओलीले नै हौस्याएको आशयसहित विभिन्न दलका आधा दर्जन सांसदले बिहीबारको प्रतिनिधिसभा बैठकमा त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन् । उनीहरूले त्रिविमा भइरहेको राजनीतिक हस्तक्षेप र आतंक नियन्त्रण गर्न मागसमेत गरेका छन् ।

पूर्वशिक्षामन्त्री एवं रास्वपा सांसद सुमना श्रेष्ठले ‘शिक्षकले राजनीति गर्न पाउनुपर्छ’ भनेर केही दिनअघि प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै त्रिविमा भएको आतंकको विरोध गरिन् । ‘सानो हुँदा पढेकी थिएँ बलभन्दा बुद्धि ठूलो भनेर, तर अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै माननीयहरूले यहाँ प्रकट गरेको व्यावहारिक शिक्षा हुनुपर्छ भन्दाखेरी, होइन बुद्धिभन्दा बल ठूलो, बलभन्दा दल ठूलो भनेर पढाइयोस्, किनभने त्यही भइरहेको छ,’ शिक्षा, स्वास्थ्य, प्रशासन सबैतिर दलीयकरण गरिएकामा आपत्ति जनाइन् ।

प्रधानमन्त्रीकै दलको भ्रातृ संगठन अनेरास्ववियुका नेताले लैनचौरस्थित सरस्वती क्याम्पसमा परीक्षा निरीक्षकमाथि हातपात गर्नुले पनि ओलीको कार्यक्षमतामा प्रश्न उठेको श्रेष्ठको भनाइ छ । स्नातकोत्तर तहको परीक्षामा चिट चोराउन नदिएको भन्दै विद्यार्थी नेता किङ्गा शेर्पाले परीक्षा निरीक्षकमाथि हातपात गरेका थिए । यो घटना ढाकछोप गरिएकामा आपत्ति जनाइन् । ‘सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा निरीक्षकलाई कुटे, क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मूकदर्शक भए, त्यसको माउ पार्टीको अध्यक्ष को ? अहिलेका प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रूपमा सबै ठाउँमा बोल्दै हिँड्ने, शिक्षकहरूले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री,’ उनले प्रश्न गरिन्, ‘जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारणचाहिँ के छ ?’

माओवादी सांसद लेखनाथ दाहालले त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रार सुरक्षा चुनौतीकै कारण बिदा बस्नुपर्ने अवस्था निम्तिएको घटनाबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरे । ‘त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त कहाँ सुरक्षा दिन सकिन्छ ?’ उनले प्रश्न उठाए, ‘सरकार छ कि छैन ? यदि सरकार छ भने टियूमा सुरक्षा दिनुपर्‍यो ।’

माओवादीकै सांसद नारायणी शर्माले त्रिविमा भइरहेको घटनाबारे सरकारको जवाफ मागिन् । ‘धेरै दिनदेखि टियूको जे कुरा आइरहेको छ, यसले जनस्तरमा चासो बढेको छ,’ उनले भनिन्, ‘शिक्षा किन यस्तो हुँदै छ भन्ने जवाफ सरकारले देओस् ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजनीतिक भागबन्डा नमिल्दा त्रिविमा अराजकता बढेको आरोप लगाए । ‘राजनीतिक भागबन्डा नमिल्दा त्रिवि अराजक अवस्थामा छ, यता ६ लाख बालबालिका विद्यालयबाहिर छन्,’ उनले भने ।