त्रिविका पदाधिकारीलाई सुरक्षा थ्रेट ! बसे लामाे विदामा, भएको के हाे ?

मूलखबर संवाददाता
काठमाडौं

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू लामो बिदामा बसेका छन् । अहिले उपकुलपति, रेक्टर र रजिस्ट्रार बिदामा बसेका हुन् । सुरक्षा ‘थ्रेट’ देखाउँदै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू लामो बिदामा बसेका बताइएको छ ।

पदाधिकारीहरू बिदामा बस्नुको मुख्य कारण समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयले हो । मानविकी तथा समाजशास्त्र संकायकी डिन कुसुम शाक्यले विभागमा टीकाराम गौतमको नाम सिफारिस गरेकी छिन् । तर, विभिन्न विद्यार्थी संगठनले यसलाई मानेका छैनन् ।

विभिन्न विद्यार्थी संगठनको धम्कीका कारण त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल १५ दिनदेखि बिदामा छन् । रेक्टर प्रा.डा. खड्ग केसी गत बुधबार र रजिस्ट्रार प्रा.डा. केदार रिजाल बिहीबारदेखि कार्यालयमा उपस्थित छैनन् । पदाधिकारी कार्यालय नजाँदा प्रशासनिकलगायत काम प्रभावित भएका छन् ।

बिदा बसेका पदाधिकारीले सुरक्षा थ्रेट र स्वास्थ्यमा समस्या भएको बताएका छन् । सुरक्षा प्रबन्ध भए कार्यालय जान सक्ने उनीहरूको भनाइ छ । २० दिनअघि प्रहरी वृत्त कीर्तिपुरले पदाधिकारीलाई ख्याल गरेर आउजाउ गर्न सुझाव दिएको थियो ।

त्रिविका रेक्टर प्रा.डा. केसीले समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख कसलाई बनाउने भन्नेबारे धम्की आएको र प्रहरीले सुरक्षा थ्रेट भएको बताएपछि बिदामा बसेको बताए । ‘समाजशास्त्र केन्द्रीय विभागमा विभागीय प्रमुखमा कसलाई लैजाने भन्ने विवादका कारण हामीमाथि थ्रेट भयो । सुरक्षा निकायले थ्रेट छ भनेपछि हामी जान छाडेका हौँ,’ उनले भने, ‘सुरक्षा प्रबन्ध भयो भने बुधबारदेखि उपस्थित हुन्छौँ ।’ याे खबर नयाँ पत्रिका दैनिकमा छ ।

कसले दियाे सुरक्षा थ्रेट ? 

त्रिवि उपकुलपति प्रा.डा. बरालले सुरक्षा थ्रेट तथा आफू बिरामी भएकाले कार्यालय जान छाडेको बताए । ‘म बिदा बस्न लागेको १५ दिन भयो, विद्यार्थीका धम्की आइरहेका छन्, पार्टटाइम शिक्षकहरूको पनि चर्को दबाब छ,’ उनले भने, ‘कतिपयले मलाई बारम्बार फोन गरिरहेका छन्, तर मैले फोन उठाएको छैन । बिदा बस्नुको अर्को कारण डेंगु लागेर पनि हो ।’ उपकुलपति प्रा.डा. बराल बिदा बसे पनि उनले कार्यवाहक जिम्मेवारी अरूलाई दिएका छैनन् ।

त्यस्तै, रेक्टर र रजिस्ट्रारले पनि बिदा बसेकोबारे पत्र वा विज्ञप्ति जारी गरेका छैनन् । त्रिवि रजिस्ट्रार प्रा.डा. रिजालले आफू शुक्रबारदेखि बिदा बसेको र बुधबारदेखि कार्यालय जाने बताए । ‘विद्यार्थी नेताहरूबाट दबाब नआएको होइन, अब बुधबारदेखि कार्यालय जान्छु,’ उनले भने ।

तर, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँले उपकुलपति, रेक्टर र रजिस्ट्रार लामो समय बिदा बस्नु वा सुरक्षा थ्रेट छ भनेर कार्यालय जान छाड्नु सही विकल्प नभएको बताए ।