पैसा सापट नदिएकाे भन्दै महिलाकाे हत्या

मूलखबर संवाददाता
लमजुङ, ३१ साउन

लमजुङको बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका एक व्यक्तिले पैसा सापटी नदिएको झोकमा एक महिलाको हत्या गरेका छन् ।

बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका ४७ वर्षीय सुके भनेर चिनिने सुग्गरे सार्कीले पैसा सापटी माग्दा नदिएको झोंकमा चितीकै तिवारीडाँडा बगैंचाकी ६२ वर्षीया वृद्धा सान्नानी घर्तीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङले आज (बिहीबार) सान्नानीको हत्या अभियोगमा पक्राउ परेका सुग्गरेलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार सुग्गरेले सान्नानीसँग ५० हजार रुपैयाँ सापटी मागेको र नदिएपछि खुर्पा (हँसिया) प्रहार गरी हत्या गरेको अनुसन्धानमा देखिएको छ । ‘सुग्गरेले बाबा–आमा बिरामी छन् भनेर सान्नानीसँग ५० हजार रुपैयाँ मागेछन् । सान्नानीले पैसा नभएको भनेपछि सुग्गरेले खुर्पा प्रहार गरेको पाइयोे’ उनले भने ।   घटनाका बेला सुग्गरेले मादक पदार्थ सेवन गरेको पनि पाइएको प्रहरीले जानकारी दिएको छ ।

सान्नानीलाई हँसिया प्रहार गरी भागेका सुग्गरेलाई प्रहरीले सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो साँढे २ बजेतिर समातेको हो । मंगलबार राति साँढे ८ बजेतिर वृद्धामाथि हँसिया प्रहार गरी आफ्नै घर गएर सुतेका उनी बिहान उठेर भागिरहेका बेला प्रहरीले पक्राउ गरेको डीएसपी घलेले जानकारी दिए ।