प्रेस सेन्टर नेपालद्वारा वर्गीकरण नतिजाबारे प्रेस काउन्सिलको ध्यानाकर्षण, नसच्याए आन्दोलन 

मूलखबर संवाददाता
काठमाडौं, २५ साउन

प्रेस सेन्टर नेपालले पत्रपत्रिका वर्गीकरणकाे नतिजामा भएको भेदभाव र मुल्यांकनमाथि आपत्ति जनाउँदै प्रेस काउन्सिलको ध्यानाकर्षण गराएको छ । उसले नतिजा नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएकाे छ ।

प्रेस सेन्टर नेपालले पत्रपत्रिका वर्गीकरणको नतिजाबारे गम्भीर असहमतिसहित यसबारे प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हाे ।

प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्षहरू ओपेन्द्र शर्मा, लक्ष्मण खड्का, दीपेन्द्र रावल र महासचिव सन्तोष पौडेल सहितको टोलीले आज काउन्सिल पुगी अध्यक्ष बालकृष्ण बस्नेतको ध्यानाकर्षण गराएको हो ।

वरिष्ठ उपाध्यक्ष गिरीले काउन्सिल पत्रपत्रिका वर्गीकरणमा न्यायोचित हुन नसकेको गुनासो आएकोले त्यसलाई पुनरावलोकन गर्न माग गर्नुभयो ।

पत्रपत्रिका वर्गीकरणमात्र होइन पुरस्कार वितरण लगायतका सन्दर्भमा समेत पक्षधरता देखिएको गुनासो आएको उहाँले बताउनुभयो । काउन्सिलको विषयमा यस्तो टिप्पणी आउनु समग्र पत्रकारिताकै लागि नराम्रो हुने भन्दै उहाँले यसबारे काउन्सिल नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष शर्मा र खडका सहितले वर्गीकरण सच्चाउनुपर्नेमा जोड दिनुभयो । त्यसक्रममा महासचिव पौडेलले प्रेस सेन्टरको ध्यानाकर्षण पत्र प्रस्तुत गर्नुभएको थियाे ।

काउन्सिलका अध्यक्ष बस्नेतले काउन्सिलको सफलतामा प्रेस सेन्टर जस्ता पत्रकार संगठनको सहयोग आवश्यक रहेको बताउनुभयो । यसपटक पत्रपत्रिका वर्गीकरण नतिजामा बढी गुनासो आएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्ने र नतिजा सच्याउने प्रतिबद्धता जनाउनुभयो ।