चीनमा विकास : प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण

मूलखबर संवाददाता
काठमाडौं, २५ साउन

चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ ।

भविष्यमा यो प्रणाली चीनको ठूला शहरहरू बीचको यातायातका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । जसले बेइजिङदेखि सांघाईको यात्रा लगभग डेढ घण्टामा गर्न सक्छ ।

यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको परीक्षण गरेको हो ।

यूएचएस म्याग्लेभ यातायात प्रणालीले याङग्वयोमा सन् २०२२ अप्रिलमा रेलको निर्माण सुरु गरेको थियो ।

यसको नतिजाले रेलको नियन्त्रण प्रणाली, स्थिर सस्पेन्सन, सुरक्षित रोक्ने प्रणाली सफल भएको चीनको सरकारी सञ्चार माध्यम सीजीटीएनले जनाएको छ ।

परीक्षणमा उच्च गति र सस्पेन्सन उचाइ एकनासको रहेको रिपोर्ट आएको छ । रेलका सबै प्रणालीले सामान्य रूपमा काम गरेको र सैद्धान्तिक रूपमा तयार पारिएको आकलन अनुसार काम गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

परीक्षणले लामो दूरीको तय र मर्मत, हावाको चाप कम भएको क्षेत्रमा प्रणालीबीचको समन्वय, नेभिगेसन नियन्त्रण र अन्य प्रमुख प्रविधिको प्रदर्शनलाई पनि सफल प्रमाणित गरेको छ ।