लमजुङ पहिराे पीडितलाई हङकङबाट सहयाेग

मूलखबर संवाददाता
लमजुङ, १९ साउन

पहिरोबाट पीडित परिवारका सदस्य र घर गुमाएका पीडितलाई हङकङबाट ११ लाख बढीको राहत प्राप्त भएको छ । लमजुङ सेवा समिति हङकङले क्व्होलासोथार गाउँपालिका–३ बगुम र दोर्दी गाउँपालिका–९ हिलेटक्सारका पहिरोपीडितलाई सो राहत रकम उपलब्ध गराएको हो ।

गत ११ असार राति गएको पहिरोबाट परिवारका सदस्य र घर गुमाएका पीडित परिवारलाई हङकङबाट पठाइएको राहत रकम जिल्ला सदरमुकाम बेंसीसहरमा एक कार्यक्रमबीच सम्बन्धित परिवारलाई प्रदान गरिएको हो । हङकङकमा विभिन्न पेसा व्यवसाय गरी बसेका १ सय २७ जना लमजुङेहरूले संकलन गरी पठाएको ११ लाख २३ हजार ५ सय ४० रुपैयाँ पीडित परिवारलाई वितरण गरिएको थियो ।

सो रकम दोर्दी र क्व्होलासोथार गाउँपालिकाका अध्यक्षको उपस्थिति तथा सञ्चारकर्मीहरूको उपस्थितिमा संविधानसभाका सदस्य जमिन्द्रमान घलेले सम्बन्धित परिवारका सदस्यलाई वितरण गरेका हुन् । सो दिनको पहिरोमा परी क्व्होलासोथारका चार र दार्दीका एक जनाले ज्यान गुमाएका थिए । समितिले मृतकका परिवारलाई १ लाखका दरले ५ लाख वितरण गरेको छ ।

घर पूर्ण क्षति भएको क्व्होलासोथरका तीन परिवारलाई १ लाखका दरले, पहिरोबाट घरमा आंशिक क्षति भएका दोर्दीका एक र पहिरोको जोखिम भई विस्थापित भएका क्व्होलासोथारका पाँच गरी ६ परिवारलाई ४० हजारका दरले रकम वितरण गरिएको लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङकी अध्यक्ष मीना गुरुङले वताइन् ।

उनका अनुसार सोही पहिरोमा परी घाइते दोर्दी र क्व्होलासोथारका एक–एक जनालाई २३ हजारका दरले उपचार खर्च प्रदान गरिएको छ । क्व्होलासोथारकै डुलुमाया गुरुङलाई पहिरोको जोखिमले विस्थापित हुनुपरेकाले २० हजार रुपैयाँ प्रदान गरिएको छ ।