बेचन झा र प्रतीक थापा पक्राउ गर्ने डिआइजिकाे सरूवा, संसदमा उठ्याे प्रश्न

मूलखबर संवाददाता
काठमाडौं

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न उच्च तहका बिचौलिया बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गर्ने डिआइजी मनोज केसीलाई गृह मन्त्रालयले आकस्मिक रूपमा सरुवा गरेको छ ।

सामान्यतया कम्तीमा एक वर्ष अवधि पुगेपछि सँगसँगै सरुवा भएकालाई एकै लटमा सरुवा गर्ने प्रचलन रहेकामा गृहले डिआइजी मनोज केसीलाई विशेष ब्युरोमा खटाएको दुई महिना नहुँदै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो ।

विशेष ब्युरोकै समन्वयमा झा र थापा गत १४ असारमा पक्राउ परेका थिए । उनीहरूमाथि उच्च राजनीतिक नेतृत्वलाई तान्ने प्रयास गरिएको र त्यस क्रममा प्रहरी नेतृत्वलाई समेत ‘बाइपास’ गरेको आरोप डिआइजी केसीलाई लागेको छ । यद्यपि, प्रत्यक्ष रूपमा उनी पछिल्लो समय सो प्रकरणको अनुसन्धानमा संलग्न थिएनन् ।

स्रोतका अनुसार भुटानी शरणार्थी प्रकरणमा उनको भूमिकालाई लिएर गृहमन्त्री रमेश लेखकले जिम्मेवारीबाट हटाएका हुन् । गत जेठमा बढुवा भएलगत्तै केसीको ब्युरोमा सरुवा भएको थियो । तर, दुई महिना नहुँदै बिहीबार उनको फेरि सरुवा भएको छ । ब्युरोमा डिआइजी राजन अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

यस विषयमा संसदमा प्रतिपक्षि दलका सांसदहरूले गम्भीर प्रश्न उठाउँदै सरकार भ्रष्टाचारीकाे संरक्षणमा लागेकाे आराेप लगाएका छन् ।