सौर्य एयरलाइन्सको विमान दुर्घटनाको कारण र उद्धार व्यवस्थामा उठ्याे प्रश्न

मूलखबर संवाददाता
काठमाडौं, १० साउन

अठार जनाको ज्यान जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको कारण र उद्धार व्यवस्थामा प्रश्न उठेको छ । दुर्घटनाका कारण र असरबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड पालना नभएको बारेसमेत प्रश्न गरियो ।

आइकाओको एयरपोर्ट सर्भिस म्यानुअल अनुसार विमानस्थलको सीमाबाट चार किलोमिटरसम्मको दुरीमा हुने हवाई दुर्घटनामा उद्धारको कमान्ड र कन्ट्रोल रेस्क्यु एन्ड फायर फाइटिङ सर्भिसेस डिभिजनले लिनु पर्छ । म्यानुअल अनुसार विमानस्थलको सीमाभित्र हुने कुनै पनि दुर्घटनामा चार मिनेटभित्र रेस्पोन्स गरिसक्नु पर्छ तर बुधबारको दुर्घटनामा वास्तविक उद्धार झन्डै ३० मिनेटपछि मात्र भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को एयरपोर्ट इमर्जेन्सी प्लान अनुसार पनि विमानस्थलको चार किलोमिटर आसपास हुने हवाई दुर्घटनालाई लक्षित गरेर एलर्ट वान, टु र थ्रीलाई आपत्कालीन अवस्थाका लागि विमानस्थलमा स्ट्यान्डबाई राखेको हुन्छ । विभिन्न प्रकृति अनुसार त्यस्तो तैनाथी ११ तहको हुन्छ ।

अलर्ट वान अन्तर्गत अग्नि नियन्त्रकसहितको टोली, टु अन्तर्गत सम्बन्धित एरियाको प्रहरी र थ्री अन्तर्गत दुर्घटनास्थलमा तत्काल नेपाली सेना परिचालन हुनु पर्छ तर बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा तत्काल परिचालन हुनुपर्ने रेस्क्यु एन्ड फायर फाइटिङ डिभिजनले उद्धारका काममा देखाएको ढिलासुस्तीबारे प्रश्न उब्जाएको हो ।

उद्धार टोलीलाई विमानस्थलभित्र रहेको फायर प्वाइन्टबाट दुर्घटनास्थलमा पुग्न लाग्ने समयलाई निकै गम्भीर र महŒवपूर्ण समयका रूपमा लिइने भएकाले यसमा नियामक निकायको भूमिकालाई समेत गम्भीर रूपमा जोडेर हेरिएको छ । यसमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरबाही पनि प्रश्नको घेरामा परेको छ ।

चाटर र नियमित नरहेको विमानमा परिचारिका उड्न नपाउने प्राविधिक उडानमा नियामक निकायको अनुमतिबिना सर्वसाधारणसमेत राखेर उडाइएको थियो तर सबैलाई सौर्य एयरलाइन्सले आफ्ना कर्मचारी भनेको छ । नौ वर्षीय बालक र ऊर्जा मन्त्रालयका कर्मचारीलाई समेत उसले आफ्नै भनेर सवारी सूचीमा राख्दा नियामक निकायले त्यसको अनुगमन नगरेको स्पष्ट देखिएको छ ।

जहाज दुर्घटनामा संयोगले बाँच्न सफल चालक मनिषरत्न शाक्यले उपचारमा संलग्न चिकित्सकलाई दिएको अभिव्यक्तिले जहाजले एक सय फिटको उचाइ लिएपछि थप उचाइ लिन नसकेपछि नियन्त्रण गुमेको बताउनुले समेत जहाज प्राविधिक हिसाबले उडानयोग्य नभएको प्रारम्भिक निष्कर्ष देखिन्छ । -रासस