साैर्य एयरकाे विमान दुर्घटनाको छानविन गर्न आयाेग गठन

मूलखबर संवाददाता
काठमाडौं, १० साउन

सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दीपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् । ४५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई समय दिइएको छ ।

सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शोकका लागि बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको बताए ।

‘आगामी दिनमा दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालक कम्पनीले जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र त्यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ,’ उनले भने ।

विस्तृत परीक्षण र मर्मत (सी–चेक) का लागि काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनाग्रस्त भएको थियाे । दुर्घटनामा परी को–पाइलटसहित १८ जनाको मृत्यु भएको छ, जसमध्ये १७ नेपाली र एक यमनी नागरिक हुन् । पाइलट मनीषरत्न शाक्य घाइते छन् । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा आईसियुमा उपचार भइरहेको छ ।