प्रधानमन्त्री राेजगार कार्यक्रममा १ वर्षमा ६० हजार ५ सयले पाए राेजगारी

मूलखबर संवाददाता
काठमाडौं, १ साउन

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०८०/८१ मा देशभर साढे ६० हजार बेरोजगारले औसतमा ८० दिनको रोजगारी प्राप्त गरेका छन् ।

सरकारले यो वर्ष ६० हजारलाई रोजगारी दिने लक्ष्य राखेकामा ६० हजार ५७१ जनाले रोजगारी पाएका हुुन् । नेपालभर आव २०८०-८१ मा सूचीकृत बेरोजगारको सङ्ख्या भने आठ लाख ५८ हजार १५४ रहेको छ ।

सरकारले गत आवमा उक्त कार्यक्रमका लागि पाँच अर्ब ९४ करोड, ६९ लाख रुपियाँ विनियोजन गर्दै ८६ हजार जनालाई रोजगारी दिने घोषणा गरेको थियो ।

श्रम मन्त्रालयले गत वर्षको साउन १ देखि लागु हुुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँबाट बढेर १७ हजार तीन सय रुपियाँ बनाएको हुँदा उक्त रकमबाट ६० हजारलाई मात्रै रोजगारी दिन सकिने भनेर राष्ट्रिय लक्ष्य राखेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपनिर्देशक उपसचिव वसन्तबहादुर बोहोराले प्रधानमन्त्री रोजगार कार्यव्रmमका लागि उपलब्ध बजेटका आधारमा श्रम मन्त्रालयले निर्धारण गरेको लक्ष्यभन्दा बढी सङ्ख्याले रोजगारी प्राप्त गर्ने दाबी गर्नुुभयो ।

केही स्थानीय तहले तथ्याङ्क पठाउन बाँकी रहेको जानकारी दिँदै चालु आवमा लक्ष्यभन्दा बढी युवाले रोजगारी पाउने उहाँको भनाइ छ । – गाेरखापत्रबाट