थप १० मेडिकल कलेज र २ अस्पतालमा स्वास्थ्य विमा सुविधा कार्यक्रम लागु

मूलखबर संवाददाता
काठमाडौं, १ साउन

स्वास्थ्य बीमा बोर्डले थप १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई आजदेखि लागू हुने गरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरेको छ ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीका अनुसार काठमाडौं उपत्यकाका चार र बाहिरका ६ वटा मेडिकल कलेज छन् ।

बोर्डका अनुसार हालसम्म ४७२ वटा सेवा प्रदाय स्वास्थ्य संस्थासँग बीमा कार्यक्रम सम्झौता भएको छ ।

बीमा कार्यक्रममा सूचीकृत भएका अस्पतालहरूमा काठमाडौं मेडिकल कलेज टिचिङ हस्पिटल (केएमसी अस्पताल) सिनामंगल काठमाडौँ, मनमोहन मेडिकल कलेज शिक्षण अस्पताल, सितापाइला, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, जोरपाटी र किष्ट मेडिकल कलेज टिचिङ हस्पिटल ग्वार्को छन् ।

सूचीकृत भएका उपत्यका बाहिरका मेडिकल कलेजहरूमा बीएण्डसी मेडिकल कलेज शिक्षण अस्पताल झापा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुर, देवदह मेडिकल कलेज खैरनी रूपन्देही र नेपालगञ्ज मेडिकल कलेज बाँके रहेका छन् ।

विर्ताज्योति आइकेयर प्रालि, झापा र दृष्टि आई अस्पताल, पोखरामा पनि स्वास्थ्य बीमा लागू भएको छ ।