प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासकाे मत लिने, सांसदलाई ह्वीप

मूलखबर संवाददाता
काठमाडौं, २८ असार २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासकाे मत लिनुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक सरकारकाे नेतृत्व गरेपछि पाँचौं पटक संसदमा विश्वासको मत लिन लाग्नुभएको हाे ।

सरकारमा सहभागी प्रमुख  दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदमा विश्वासको मत लिन लाग्नुभएको हाे ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले संविधानकाे धारा १०० काे उपधारा २ बमोजिम आज ११ बजेकाे संसद बैठकमा विश्वासको मत लिने कार्यसुची रहेको छ ।

माओवादी केन्द्रले विश्वासको मतकाे पक्षमा मतदान गर्न अनिवार्य उपस्थितिकाे लागि सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डकाे पक्षमा सत्ता सहयात्री दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी रहेकाे छन् भने नेपाली कांग्रेस सहितका प्रतिपक्षी दल विपक्षमा रहेका छन् ।

०७९ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले  पहिलोपल्ट त्यसै महिनाको पुस २६ मा विश्वासको मत लिनुभएकाे थियाे । एमालेको समर्थनमा प्रधानमन्त्री भए पनि उहाँलाई प्रमुख प्रतिपक्ष कांग्रेसले पनि विश्वासको मत दिएको थियो । त्यति बेला उहाँले झन्डै सर्वसम्मत अर्थात् २६८ मत पाउनुभएकाे थियाे । एमालेको समर्थनमा प्रधानमन्त्री भएका उहाँले उक्त पार्टीलाई छाडेर कांग्रेससँग जोडिएपछि दोस्रो पटक ०७९ चैत ५ मा विश्वासको मत लिनुभएकाे थियाे । त्यति बेला उहाँले १ सय ७२ मत प्राप्त गर्नुभयाे । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग पुनः सहकार्यमा जोडिएपछि कांग्रेस सरकारबाट अलग भएका कारण प्रचण्डले  गत फागुन ३० मा तेस्रो पटक विश्वासको मत लिँदा १५७ मत आएको थियाे । सरकारमा सहभागी जसपा नेपाल सरकारबाट अलग भएपछि चाैथाेपटक ०८१ जेठ ७ मा चौथो पटक विश्वासको मत लिँदा पनि १५७ मत नै प्राप्त भएको थियाे ।

यस पटक कांग्रेस, एमाले, राप्रपाले बिहीबार नै आफ्ना सांसदलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । यस्तै जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह र योगेन्द्र मण्डल पनि दाहाल सरकारको विपक्षमा उभिएका छन् ।