प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने माओवादी केन्द्रको संसदीय दलको निर्णय

मूलखबर संवाददाता
काठमाडौं, २६ असार ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको छ । सिंहदरबारमा सम्पन्न बैठकबाट प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिएर अगाडि जाने निर्णय गरेको प्रमूख सचेतक हितराज पाण्डेले बताउनुभयो ।

बैठकले प्रधानमन्त्रीले विश्वासको मत फेस गर्दा राजनीतिक रुपमा विजय हुने पनि निश्कर्ष निकालेको छ । प्रधानमन्त्रीले सबै सांसदहरुलाई दृढतापुर्वक विश्वासको मतको पक्षमा माहौल बनाउन निर्देशन पनि दिनुभएको छ ।

माओवादी केन्द्रले सत्ता घटक एमालेले विश्वासघात गरेर अप्रत्यासित रुपमा अर्को समिकरण बनाउन गएको पनि निश्कर्ष निकालेको छ । त्यसैगरी बैठकले संविधानको व्यवस्था अनुसार नै विश्वासको मत फेस गर्ने र त्यसपछि बन्ने सरकार पनि संवैधानिक व्यवस्था अनुसार नै बन्ने बताएको छ ।

बैठकले सबै दलका सांसदहरुसँग र स्वतन्त्र सांसदहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको छ । त्यसैगरी सरकारमा रहाँदासम्म जनताको पक्षमा निर्णय गर्ने र सरकारकाट बाहिरिएको अवस्थामा जनताका एजेण्डा लिएर संसद र सडकबाट जनताको पक्षमा भुमिका निर्वाह गर्ने निर्णय गरेको पाण्डेले बताउनुभयो ।

पाण्डेले संविधानको रक्षा गर्न र परिवर्तनका एजेण्डालाई संस्थागत गर्नको लागि माओवादी प्रतिवद्ध रहेको बताएका छन् ।