धारा ७६(२)काे सरकारले विश्वासको मत नपाए स्वतः धारा ७६(३) अनुसार सरकार बन्छ : ओली

मूलखबर संवाददाता
काठमाडौं, २५ असार

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार धारा ७६(२) अनुसार बनेको सरकारले विश्वासको मत नपाएर सरकार ढलेमा स्वतः धारा ७६(३) अनुसार सरकार बन्ने तर्क गरेका छन् ।

ओलीकाे साे धारणा भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अघिल्लो पटक वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने अघिल्लो दिन पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए- उहाँले भोलि प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर माग्नु हुनेछ । उहाँमाथि हामीले विश्वास छैन भन्दा, भोलि यदि उहाँको प्रस्ताव असफल भयो भने ७६ (२) को मिलिजुली सरकारको च्याप्टर क्लोज हुन्छ र, असफल हुनेबित्तिक्कै राष्ट्रपतिले प्रमुख पार्टीको हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ ।

त्यसरी बन्ने अल्पमतको सरकार दृष्टिकोण र संकल्पबिहीन हुने भएकाले त्यसलाई रोक्न पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने ओलीको तर्क थियो । त्यस्तो सरकार गठन हुन सक्ने  स्थितिलाई रोक्न पनि विश्वासको मत दिनुपर्ने भन्दै ओलीले आफ्ना सांसदहरुलाई निर्देशन गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

अहिले अब बन्ने सरकार कुन धाराबाट बन्ने भन्ने बहस भइरहेका बेला ओेलीकाे धारणा एउटा नजिर हुनसक्ने बताइएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको एमालेकाे समर्थन अप्रत्याशित रूपमा फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत फेस गर्ने घाेषणा गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डलाई एमाले र कांग्रेसले विश्वासको मत नदिएमा उनको सरकार ढल्छ र नयाँ सरकारकाे लागि बाटाे खुल्छ ।

त्यसपछि बन्ने सरकार ओलीकाे नेतृत्वमा बनाउने सहमति कांग्रेस एमालेले गरेकाे भनिएको थियाे । तर संविधानकाे व्यवस्था अनुसार धारा ७६(३) मा जाँदा ओली प्रधानमन्त्री बन्न नसक्ने र ठूलो दलकाे नेताकाे हिसाबले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्थिति आउनेछ ।