उदयपुरसहित चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

मूलखबर संवाददाता
काठमाडौं

मंगलबार उदयपुर, सिन्धुली, मोरङ र सर्लाही जिल्लामा भारी वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार ती जिल्ला भएर बग्ने नदी तथा खोलाहरूमा बाढीको जोखिम रहेको छ ।

महाशाखाले बिहान ७ बजेर ५५ मिनेट जारी गरेको सूचनामा उदयपुर जिल्लास्थित त्रियुगा खोलाको गाईघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेको छ । नदीको तटीय क्षेत्रमा रहनेहरूले दिउँसो सम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

त्यस्तै बिहान साढे ५ बजेको मापन अनुसार पछिल्लो १ घण्टामा सिन्धुली रानीबास, उदयपुर मुर्कुची बजार वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम तथा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने कमला, रातु, त्रियुगा र अन्य साना नदीहरूमा केही बहाव बढ्ने महाशाखाको भनाई छ ।

बिहान ५ बजेर १५ मिनेटमा जारी सूचना अनुसार पछिल्लो ३ घण्टामा सर्लाही जिल्लास्थित पथ्थरकोट र मोरङको केराबारी वर्षा मापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स९साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।