सिंहदरबार प्रवेशमा विद्युतीय पास लागू हुदै

मूलखबर संवाददाता
काठमाडौं

साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि विद्युतीय पास लागू हुने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सिंहदरबार प्रवेशलाई सहज बनाउन अनलाइनमार्फत विद्युतीय पासको व्यवस्था गरिने भएको हो ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “जसले कम्प्युटर चलाएर अनलाइनबाट एप्लाई गरेर पास लिनसक्नुहुन्छ, उहाँहरु त्यो पास लिएर आउन सक्नुहुन्छ । नसक्नेहरुलाई अहिले पुरानै सिस्टम पनि यथावत् छ ।”

उहाँका अनुसार गृह मन्त्रालयसँग सम्बन्धित वेबासाइट घरमै लगइन गर्ने, पासका लागि फारममा परिचय पत्रलगायतका आवश्यक विवरण भर्ने र स्वीकृत भएपछि त्यसको तस्विर वा स्क्रिनसट लिएर सिंहदरबार प्रवेश गर्न सकिनेछ । यसका लागि स्मार्ट युजरको व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सिंहदरबार प्रवेश पासलाई सहज बनाउन यसो गरिएको छ । जसले कम्प्युटरमा एप्लाइ गरेर पास लिन सक्नुहुन्छ, उहाँलाई स्मार्ट युजर भनेका छौं । अरुलाई अर्डिनरी युजर भनेका छौं ।”

सुरक्षालाई थप व्यवस्थित गर्न यसो गरिएको हो भन्ने जिज्ञासामा उहाँले सुरक्षा व्यवस्थाका लागि प्रवेश पास सँगसँगै नियमित चेकजाँच यथावत् हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुयो, “सुरक्षाको कुरा पुरानै हो । प्रहरीबाट चेकजाँच त्यो त चाहियो नै तर नयाँ सिस्टमबाट यहाँ काम भएर आउने मान्छेलाई सजिलो होस् भनेर यसो गरिएको हो ।”

उहाँले यसरी अनलाइनमार्फत प्रवेश पास लिन झन्झटिलो प्रक्रिया नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गृह मन्त्रालयको वेबसाइटमा जाने । लग इन गर्ने, पासका लागि रिक्वेष्ट गर्ने । कसलाई भेट्ने हो ? कति बजे भेट्ने हो ? सबै कुरा फिल अप गर्ने । अनि यता सम्बन्धित मन्त्रालयको व्यक्तिले एप्रुभ गर्नुहुन्छ । भेट्न चाहने व्यक्ति व्यस्त हुुनुहुन्छ भने व्यस्त भनेर लेखिदिनुहुनेछ । अनि जुन दिन समय मिल्छ त्यही दिन पास बोकेर आएर भेट्न सकिनेछ ।”