गिरीबन्धुको कालो धब्बाले छोपिएकाहरूले नैतिकता सिकाउन मिल्दैनः सांसद सापकोटा

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस एमालेको समीकरणले मुलुकलाई स्थिरता नदिने दाबी गर्नु भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले राजनीतिक स्थिरता र संविधान संशोधन गर्ने भनेर कांग्रेस एमालेले समीकरण बनाउन खोजे पनि त्यस्तो सम्भावना नभएको बताउनुभयो ।

‘उहाँहरूले राजनीतिक स्थिरता दिने र संविधान संशोधन गर्ने भनेको सुनियो’, ‘संसदीय अभ्यासले ठुलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो ठुलो दल वेटेङि गभर्नमेन्ट अर्थात प्रमुख प्रतिपक्षमा बसेर भूमिका खेल्ने । तर संसद्ले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो । त्यसैले उहाँहरूले अहिले जे भन्नुभएको छ यसका पछाडि स्थिरता दिने कुनै पनि गुञ्जायस देखिँदैन ।’

नेता सापकोटाले कांग्रेस एमालेले अपारदर्शी समझदारी गरेको भन्दै दुई दलका बीचमा अझै त्यो समझदारी आधिकारिक रूपमा नआएको भन्दै नेताहरूको मिडिया ट्रायल हो वा के हो ? भनेर प्रश्न गर्नुभएको छ । ‘दिनभरि प्रधानमन्त्रीसँग बसेर स्वर्ग गए पनि नर्क गए पनि सँगै जाऔँ भन्ने अनि ललितपुरमा सहमति ड्राफ्ट गर्न खटाउने यो कहाँको नैतिकता हो ?’, सापकोटाले कटाक्ष गदै सत्तापक्षबाट भर्खरै प्रतिपक्षमा पुगेका दलहरूको ‘यही हो नैतिकता ?’ भनेर प्रश्न गर्नुभएको छ ।

उहाँले वेचन झाको गिरफ्तारी र तथ्यहरू सार्वजनिक हुँदै गएपछि कांग्रेस एमालेले डुङ्गा प्वाल परेको देखेको बताउनु भयो ।

‘५० को दशकमा तपाईंहरु नै भन्ने गर्नुहुन्थ्यो कमल थापाहरूलाई डुङ्गा प्वाल पारेर भाग्नेहरू मुसा प्रवृत्तिका हुन् । डुङ्गा प्वाल पर्दा मुसा भाग्छ तर बहादुरहरूले सामना गर्छन् । साहसीहरुले सामना गर्ने हो’, उहाँले गिरीबन्धुको कालो धब्बाले छप्पकै छोपिएकाहरूले नैतिकता सिकाउन नमिल्ने बताउनु भयो । ।