किन गाेप्य राखियाे कांग्रेस-एमाले सहमति ? के छ रहस्य ?

मूलखबर संवाददाता
काठमाडौं, २० असार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल एमालेबीच सोमबार मध्यरात भएको भनिएको सहमति हालसम्म गाेप्य छ । सहमतिमा हस्ताक्षर नहुँदै सार्वजनिक गर्ने र जस लिने हाेडबाजी चल्ने दलहरूले सहमति भएको भनिएकाे ४ दिनसम्म पनि सहमति सार्वजनिक गर्न नचाहनुले गम्भीर अाशंका उब्जिएको छ ।

सहमति दुवै पार्टीका उपल्लो निकायकाे बैठकबाट अनुमोदन भएको छ । तर, आजसम्म पनि देउवा र ओलीबीच भएको मूल सहमति गोप्य राखिएको छ । साे सहमतिकाे कागज बैठकहरूमा समेत सार्वजनिक गरिएको छैन । बैठकमा पनि सहमतिका बुँदाहरू भनेर उल्लेख गरिएको छ तर सहमति पत्र देखाइएको छैन ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी बैठकमा पनि मूल सहमतिको पत्र सार्वजनिक नगरेको र सार निर्णयमा समेटिएको बताए ।

‘सहमतिपत्र हामीले सार्वजनिक गरेका छैनौँ । सहमतिको मुख्य सार बैठकको निर्णयमा आएको छ । पार्टीलाई पनि जानकारी गराइएको छ । सार्वजनिक गर्ने विषयबारे तत्काल हामीले सोचेका छैनौँ,’ उनले भने ।

एक पदाधिकारीको दाबीअनुसार तत्काल सार्वजनिक गर्दा परिस्थिति भड्किन सक्ने आशंकाले सहमतिपत्र गोप्य राखिएको हो ।

भएको भनिएको सहमतिमा नेकपा एमाले र कांग्रेसका धेरै नेताहरूकाे असहमति सार्वजनिक भइरहेको छ । सहमतिमा संविधान शंसाेधन गरि परिवर्तनका एजेन्डा उल्टाउने षड्यन्त्र देखिएकाे भन्दै माओवादी केन्द्रले विराेध गरेकाे छ भने संघियता र समानुपातिक व्यवस्था खारेज गर्न खाजेकाे भन्दै चाैतर्फी आलोचना शुरू भएको छ ।

के छ सहमतिका बुँदाहरू ? 

एमाले -कांग्रेसबीचको सहमतिका मुख्य बुदा :
-एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ।
-अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने ।
-एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने ।
-मधेष प्रदेश,मधेषी दललाई दिने ।
-निर्वाचन प्रणाली संशोधन गर्ने सहमति ।
-पूर्वप्रधानन्याधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने ।