रास्वपा झमेलामा : महामन्त्री ढकाल निलम्बित

मूलखबर संवाददाता
काठमाडौं, २० असार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झमेलामा परेको छ । बैठकमा अराजकता देखाएको भन्दै महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल निलम्बनमा परेका छन् ।  उनलाई कार्वाही गरेपछि  कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलाई दिइएको छ।

बुधबार महामन्त्री डा. ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय भएको थियो ।  त्यस्तै, कार्यवाहक प्रवक्ताको जिम्मेवारी मनीष झालाई तोकिएको छ।  पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको हो।

महामन्त्री ढकाल बुधबारको बैठकमा बोल्न नपाएको भन्दै मुखमा मास्क र कालो टेप लगाएर बसेका थिए। उनले नै तयार पारेको प्रतिवेदनमाथि रास्वपामा दिनभर छलफल भएको थियो।  बैठकमा बोल्ने ५२ मध्ये ५० केन्द्रीय सदस्यले महामन्त्री ढकालको क्रियाकलापमाथि प्रश्न उठाएका थिए।

पार्टी अनुशासनविपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको ती पदाधिकारीले बताए।  बुधबार नै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो। बैठकमा बोल्न नमानेर बैठकबाहिर मिडियासँग पार्टीविरुद्ध बोलेको भन्दै पार्टीले कारबाही गरेको हो।