मन्त्रीहरुलाई नियमित काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

मूलखबर संवाददाता
काठमाडौं, १८ असार ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्रीहरूलाई नियमित काम गर्न निर्देशन दिएका छन् । मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही मन्त्रीहरूसँग छलफल गर्दै मिडियामा सरकार फेरबदलको कुरा आउँदैमा आफ्नो काम नछोड्न आग्रह गरेको एक मनत्रीले मूलखबरलाई जानकारी दिए ।

राजनीतिक समिकरण परिवर्तन भएको हल्लाका बीच प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म कुनैपनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था नरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियमित कामहरू जारी राख्न निर्देशन दिएका हुन् ।

मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीसँग केही मन्त्रीहरूले भेटघाट गरेको बताउँदै प्रधानमन्त्रीले कुनै दलले समर्थन फिर्ता लिए संवैधानिक व्यवस्था अनुसार संसदमा विश्वासको मत लिने प्रक्रियामा अघि बढ्ने बताएको उनले उल्लेख गरे ।