विदेशी मुद्रा सञ्चितिमा लगातार नयाँ रेकर्ड, कति पुग्याे ?

मूलखबर संवाददाता
काठमाडौं, १६ असार

पछिल्ला ११ महिनायता मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ ।

राष्ट्र बैंकका अनुसार रेमिट्यान्स निरन्तर बढिरहेको, पर्यटन क्षेत्र तंग्रिन थालेको, आयात लगातार घटिरहेकोलगायत कारण उक्त अवधिमा विदेशी मुद्रा सञ्चितिले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको हो ।

करिब २५ महिनाअघि विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक थियो । आर्थिक वर्ष ०७९/७९ मा सञ्चिति घटेर ११ खर्ब ४६ अर्ब (९ अर्ब २५ करोड अमेरिकी डलर) कायम भएको थियो । लगातार सञ्चितिमा कमी आएपछि सरकारले १० प्रकारका वस्तु आयातमा प्रतिब्न्ध लगाएको थियो भने राष्ट्र बैंकले पनि प्रततिपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

नीति निर्माताहरूले विदेशी मुद्रा सञ्चिति घट्दै गएकाले देश श्रीलंका बन्ने डर फैलाइरहेका थिए । सोही कारण सरकारले आयात घटाउने कसिलो नीति अवलम्बन गरेको थियो । सरकारले उक्त निर्णयले आयातमा कमी आउँदा आर्थिक गतिविधिमा सुस्तता आयो । यद्यपि सरकारको चासो रहेको विदेशी मुद्रा सञ्चितिमा सुधार आउन थाल्यो ।

गत वैशाखसम्म १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेपछि ११औं पटक फेरि नयाँ कीर्तिमान बनेको हो । यसरी हरेक महिना विदेशी विनिमयमा हरेक महिना नयाँ कीर्तिमान बन्नुको मुख्य कारण रेमिट्यान्स आप्रवाहमा हुँदै आएको निरन्तर वृद्धि नै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको खबर कान्तिपुरमा छ ।