टिआरसीमा सहमति बन्दै, संसदबाट पारित हुने सम्भावना

मूलखबर संवाददाता
काठमाडौं, १३ असार २०८१

टिआरसी विधेयक अब केही दिनमा पारित हुने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकमा सहमति जुटाउन गरेको तीनदलिय शिर्ष बैठकमा टिआरसीमा सहमति जुटेपछि पारित हुने दिशामा गएको हाे ।

बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले  राखेको बैठकमा नेपाली कांग्रेसले पनि सहमति जनाउने संकेत दिएको थियाे । बजेट पारित भएपछि प्रधानमन्त्रीले टिआरसी र संघीयतासँग सम्बन्धित विधेयकलाई प्राथमिकतामा राखेर प्रमुख दलको सहमतिमा अघि बढाउन छलफल सुरु गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

आजको छलफल एकदमै सकारात्मक भएको छ । बजेट पारित भएपछि टिआरसी र संघीयता कार्यन्वयनसँग सम्बन्धित विधेयकहरुलाई प्रधानमन्त्रीले संसद्‌को बिजनेस बनाउन खोज्नु भएको छ,’ आचार्यले भने, ‘सहमति हुन नसकिएको विषयमा संशोधन हाल्ने आफ्नो प्रक्रिया छ । तर, प्रमुख राजनीतिक दलहरुबीचमै सहमति कायम होस् भन्ने चाहनाले प्रधानमन्त्रीले छलफल थाल्नु भएको हो ।’

प्रधानमन्त्री प्रचण्डले पार्टीको मध्यपुर्व समितिकाे बैठकलाई बिहीबार राती भर्चुअल सम्वाेधन गर्दै टिआरसी विधेयकमा सहमति जुटेकाे र तिनदिन भित्र पारित हुने प्रक्रियामा जाने बताएका थिए ।