कर्मचारीले थप तलब भत्ता माग्दै ब्ल्याक आउट गरेपछि संसद बैठक स्थगित

मूलखबर संवाददाता
काठमाडौं, ५ असार ।

नेपालको संसदमा विरलै हुने घटना देखिएको छ । बुधबारको प्रतिनिधिसभाको संसद बैठक कर्मचारीहरुले तबल र भत्ता वृद्धि नभएको भन्दै ब्ल्याक आउट गरेपछि स्थगित भएको छ । संघीय संसद्का कर्मचारीले आन्दोलन गरी प्रतिनिधिसभाको बैठकको कामकारबाहीलाई अवरोध गरेपछि स्थगित भएको हो ।
बुधबारको बैठक शुरु हुन अगाडि विहानै एक जना प्रहरीले शौचालयमा गएर आफैंलाई गोली हानी आत्म हत्या गरेकै दिन कर्मचारीको अवरोधका कारण बैठक स्थगित भएको हो ।

बुधबारको बैठकमा मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले जवाफ दिएका थिए । त्यसपछि सांसदहरूले पूरक प्रश्न सोध्ने क्रम सुरु भएको थियो । पूरक प्रश्न सोधिरहेको बेला संसद्का कर्मचारीले आन्दोलन गरी सदनको प्रत्यक्ष प्रशारण गर्ने क्यामेरा सभामुख देवराज घिमिरेतिर मात्रै सोझ्याएका थिए । प्रश्न सोध्ने सांसदहरूलाई भने प्रत्यक्ष प्रशारणमा देखाइएको थिएन ।

लामो समय सभामुख घिमिरेलाई मात्रै प्रत्यक्ष प्रशारणमा देखाएपछि सांसदहरूले प्रश्न गरेका थिए । सभामुख घिमिरेले सांसदका पूरक प्रश्न नसकिँदै र मन्त्री यादवले जवाफ दिन नपाउँदै संसद्को बैठक स्थगित गरिदिएका हुन् । सभामुखले बिहीबार ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थित भएको जानकारी गराएका थिए ।

संघीय संसद्का कर्मचारीहरूले पछिल्लो समय तलब बृद्धि, आवास भत्ता, कार्यालय समयभन्दा बढी काम गरेको भत्तालगायतको माग गर्दै आएका छन् ।