शुक्रबारदेखी मेलम्चीको पानी बन्द

मूलखबर संवाददाता
काठमाडौं, ५ असार, २०८१

काठमाडौबासीको तिर्खा मेट्ने जीवनधाराको रुपमा रहेको मेलम्चीको पानी शुक्रबारदेखी काठमाडौं नआउने भएको छ । खानेपानी विकास समितिले पर्सि शुक्रवारदेखि काठमाण्डौमा पानी पठाउन बन्द गर्ने भएको छ । वर्षासँगै मेलम्ची नदीमा पानीको बहाब बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

अहिले काठमाण्डौमा दैनिक झन्डै २० करोड लिटर मेलम्चीको पानी बितरण भइरहेकोमा अब रोकिने भएको छ । मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा मेलम्ची आयोजनाले खानेपानीले आपूर्ति व्यवस्थापनका साथै जमिनमुनिको पानीको सहतसमेत बढाएको बताउनुभयो ।