विपदमा सहयाेग गर्न माओवादी केन्द्रकाे अपील

मूलखबर संवाददाता
काठमाडौं, ४ असार

सत्तारूढ दल नेकपा माओवादी केन्द्रले विपद जाेखिम न्युनिकरणकाे लागि सरकार र सराेकारवाला सबैमा अपिल गरेको छ ।

पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै वर्खाकाे माैसमसँगै विपदकाे सम्भावना देखिएकाले पार्टी पंक्तिलाई पनि विपदमा उद्वार , राहतकाे लागि तयार रहन निर्देशन दिएका छन् ।

उनलेे भनेका छन्-  हाम्रो पार्टी एवं भातृ संगठनहरुबाट पनि स्वयंसेवकहरु तयार गरी पीडित व्यक्ति, परिवार तथा समुदायलाई यथाशीघ्र मानवीय सेवा तथा सुरक्षा लगायत अन्य आवश्यकताको परिपूर्तिको व्यवस्थापनमा खटिनका लागि तयार रहन हार्दिक आह्वान गर्दछौँ ।

उनलेे यस वर्ष पनि नेपालको पूर्वी भागबाट मनसुनको प्रवेश भइसकेको र देशका अधिकांश स्थानहरूमा सरदर बढी नै वर्षा हुने सम्भावना रहेको पूर्वानुमान भएको भन्दै आम नागरिकलाई पनि सचेतता अपनाउन अपिल गरेका छन् । विज्ञप्तिमा भनिएको छ- मनसुनजन्य प्रकोपहरु जस्तै बाढी,पहिरो, चट्याङ लगायतबाट सुरक्षित र सतर्क रहन तथा सावधानी अपनाउन आमजनसमुदायमा हार्दिक अपील गर्दछौ ।

प्रेस विज्ञप्तिकाे पुर्ण पाठ-
नेपालमा प्रत्येक वर्ष मनसुनजन्य विपदका कारण धनजनको ठूलो क्षति हुने गरेको यथार्थ हामी सबैले अनुभव गरेका छौ । यस वर्ष पनि नेपालको पूर्वी भागबाट मनसुनको प्रवेश भइसकेको र देशका अधिकांश स्थानहरूमा सरदर बढी नै वर्षा हुने सम्भावना रहेको पूर्वानुमान भएको छ । यस वर्ष मनसुनबाट सुदूरपश्चिम प्रदेशको उत्तर पश्चिमी भू– भाग, वागमती प्रदेशको दक्षिण पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भू–भाग बढी प्रभावित हुनसक्ने सहित जोखिमको आँकलन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ ।
गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलहरुसंग गरेको छलफलमा दलहरुलाई विपद स्वयंसेवकहरु उपलब्ध गराउन र पीडितहरूको उद्धार तथा राहतका साथसाथै प्रतिकार्यका लागि परिचालन हुन अनुरोध भएकाले हाम्रो पार्टी एवं भातृ संगठनहरुबाट पनि स्वयंसेवकहरु तयार गरी पीडित व्यक्ति, परिवार तथा समुदायलाई यथाशीघ्र मानवीय सेवा तथा सुरक्षा लगायत अन्य आवश्यकताको परिपूर्तिको व्यवस्थापनमा खटिनका लागि तयार रहन हार्दिक आह्वान गर्दछौँ ।
मनसुनजन्य प्रकोपहरु जस्तै बाढी,पहिरो, चट्याङ लगायतबाट सुरक्षित र सतर्क रहन तथा सावधानी अपनाउन आमजनसमुदायमा हार्दिक अपील गर्दछौ । मनसुनजन्य विपदबाट हुनसक्ने क्षतिलाई न्युनिकरण गर्ने कार्यमा राज्यका सबै निकायहरू सरकारी, गैर–सरकारी, राजनीतिक दल तथा सरोकारवालाहरू पूर्वतयारीमा रहन, क्षतिको न्यूनिकरणका उपाहरु अपनाउन र विपद आइपरेको अवस्थामा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, स्वास्थ सेवा तथा सुरक्षा जस्ता आधारभुत सेवा प्रदान गर्नमा क्रियाशील रहन ध्यानाकर्षण गराउँदछौँ ।
यसैगरी विपदको अवस्थामा स्थानीय तह विशेष गरी पालिकाहरु अग्रपङतिमा रही मनसुनजन्य विपदको पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक प्रबन्ध मिलाउन, त्यस किसिमका विपदबाट जोगिनका लागि आमजनसमुदायलाई घरेलु र स्थानीय उपायहरू अपनाउन र सचेत रहनका लागि आवश्यक प्रचार प्रसारको व्यवस्था मिलाउने तर्फ पनि विशेष ध्यानदिन अनुरोध गर्दछौँ ।
यसका साथै मनसुनजन्य विपदको जोखिमबारे जानकारी लिन, जोखिमलाई न्यूनिकरण गर्न तथा प्रतिकार्यको व्यवस्थापनका सम्बन्धमा आवश्यकता अनुसार अग्रसर हुन पनि आम नागरिकहरुमा हार्दिक अपील गर्दछौँ ।

मितिः २०८१।०३।०४ गते
…………………………
(अग्नि प्रसाद सापकोटा)
प्रवक्ता
ने.क.पा(माओवादी केन्द्र)