कक्षा १२ काे नतिजा अगाडि नै चिकित्सा क्षेत्रकाे स्नातककाे इन्ट्रान्स दिन पाउने
चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ।
यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा भाग लिन १२ कक्षा पास हुनु पर्थ्यो। एकीकृत प्रवेश परीक्षाका लागि आयोगले गत बुधबारदेखि आवेदन खुलाइसकेको छ। सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेशपत्रका आधारमा आवेदन दिन सक्ने छन्।
साे व्यवस्था अनुसार एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, फार्मेसीलगायत चिकित्सा शिक्षातर्फको स्नातक तहका विभिन्न विषयमा भर्ना हुन कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायतका विषयमा अध्ययन गरेको हुनुपर्ने छ। उक्त विषयमाकक्षा ११ मा कम्तीमा ५० प्रतिशत वा २.४ जिपिए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ।
चिकित्सा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए। उनले १२ कक्षाको विद्यार्थीको नतिजा आउन ढिलाइ हुँदा नियमित विद्यार्थीले पनि एकीकृत प्रवेश परीक्षाका लागि समय कुर्नुपर्ने व्यवस्था रहेकोमा यो पटकबाट कक्षा १२ को नतिजा नआइसकेको भए पनि परीक्षामा सहभागी हुन पाउने जानकारी दिए।