सञ्जीव पाैडेलकाे संस्मरणात्मक कृति `छाेटु´ सार्वजनिक

मूलखबर संवाददाता
काठमाडौं, १ असार

कृषि विकास बैंकका सञ्चालक समिति सदस्य सञ्जीव पौडेलको संस्मरणात्मक कृति `छोटु´ सार्वजनिक भएको छ ।

चितवनमा  आयाेजित एक कार्यक्रमका बीच प्रमुख अतिथि निर्वाचन आयाेगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र कार्यक्रमका अध्यक्ष रमाकान्त सापकोटालगायतले कृति सार्वजनिक गरेका हुन् ।

प्रमुख अतिथि दिनेशकुमार थपलियाले साहित्य लेखनले मुलुकको समृद्धि र सामाजिक जागरणमा भूमिका खेल्ने बताए । उनले नेताले, शिक्षकले, कर्मचारीले नदेख्ने बेथिति एकजना लेखकले देख्नसक्ने भन्दै साहित्यले लेखकलाई जीवित राख्ने बताए । ३० वर्षे जागिरे जीवनबाट अवकाश पाएर पूर्व कर्मचारी बनेका सञ्जीव पौडेल यो कृतिबाट अभूतपूर्व बनेको उनको भनाइ थियाे ।`लेखक कहिल्यै पूर्व हुँदैनन् । उनीहरू अभूतपूर्व हुन् लेखक सधैँ बाँचेका हुन्छन्´, थपलियाले भने ।

कार्यक्रममा पुस्तकका सन्दर्भमा बोल्दै प्राडा कर्णबहादुर बानियाँले यो पुस्तक संस्मरण भए पनि आख्यानात्मक भएको बताए ।

कार्यक्रममा अर्का वक्ता वासुदेव अधिकारीले लेखक पौडेलले लमजुङमा बिताएको बाल्यकाल, युवाकालमा भारतमा बिताएको जागिरे जीवन र त्यसपछि बैंकमा गरेको सेवालाई किताबमा महत्त्वका साथ समेटेको बताए ।

कार्यक्रममा लेखक पौडेलको चिनारी राख्दै अनिल पौडेलले सञ्जीव पौडेलको जीवनवृत्त सुनाएका थिए । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले शुभकामना मन्तव्य राखेका थिए भने स्रस्टा रविकिरण निर्जीवले स्वागत मन्तव्य राखेका थिए ।

लेखक पौडेलले इमानदारीपूर्वक संस्मरण लेखेको बताए । उनले जीवनका उकाली-ओरालीहरू छोटुमा समेटेको बताउँदै जीवन भोगाइलाई तोडमोड नगरी दुरुस्त राखेको दाेहाेर्याए ।

३० वर्ष कृषि विकास बैंकमा सेवा गरेका पौडेल हाल सोही बैंकका सञ्चालक सदस्य हुन् । कार्यक्रमलाई कवि सामना पहाडले सहजीकरण गरेकी थिइन् । सञ्जीवकी धर्मपत्नी पुर्व शिक्षिका मीना अधिकारी पौडेलले प्रकाशन गरेको पुस्तकको मूल्य ४०० रुपैयाँ छ । पुस्तकको वितरक सम्पूर्ण किताब नारायणगढ रहेको छ ।