प्रदेश बजेट : सबैभन्दा ठुलो बागमतीको, सानो कर्णालीको, अरूकाे कति ?  

मूलखबर संवाददाता
काठमाडौं, १ असार

आर्थिक वर्ष २०८१/८२काे लागि  सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले शनिबार आआफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् ।

असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ल्याइएको सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो ।

कुल दुई खर्ब ७८ अर्ब ७० करोड रुपियाँकाे बजेट

सबै प्रदेशले गरि कुल दुई खर्ब ७८ अर्ब ७० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपियाँले कम हो । चालु आवका लागि प्रदेशले दुई खर्ब ८० अर्ब ४० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । खास गरी आन्तरिक स्रोत परिचालनमार्फत राजस्व सङ्कलन बढ्ने अवस्था नदेखिएको र सङ्घले कतिपय शीर्षकका अनुदान नै कटाएपछि बजेटको आकार घटाउनुपरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले जनाएका छन् ।

सबैभन्दा ठुलो बागमतीको, सानो कर्णालीको, अरूकाे कति ?  

चालु आवमा ३६ अर्ब ७४ करोड रुपियाँको बजेट ल्याएको कोशी प्रदेशले आगामी आवका लागि ८६ करोड घटाएर ३५ अर्ब २७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । त्यस्तै मधेश प्रदेशले पनि चालु आवको करिब २२ करोड रुपियाँ घटाएर ४३ अर्ब ८९ करोड २१ लाख रुपियाँको बजेट ल्याएको छ ।

सबैभन्दा ठुलो आकारको बजेट प्रस्तुत गरेको बागमती प्रदेशले भने बजेट बढाएको छ । बागमतीले आगामी आवका लागि ६४ अर्ब ५४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपियाँले बढी हो । चालु आवमा बागमतीले ६२ अर्ब ७१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।

गण्डकी प्रदेशले पनि चालु आवको तुलनामा करिब एक अर्ब रुपियाँ आकार घटाएर ३२ अर्ब ९६ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । चालु आवमा गण्डकी प्रदेशले ३३ अर्ब ८२ करोड रुपियाँको बजेट ल्याएको थियो ।

लुम्बिनी प्रदेशले चालु आवको तुलनामा डेढ अर्बले घटाएर ३८ अर्ब ९५ करोड ९५ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

कर्णाली सरकारले पनि दुई अर्बले बजेटको आकार घटाएर ३१ अर्ब ४१ करोड ४१ हजार रुपियाँको बजेट ल्याएको छ । चालु आवमा कर्णालीले ३३ अर्ब ३७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।

आगामी आवका लागि सुदूरपश्चिम प्रदेश सरकारले भने आफ्नो बजेट बढाएर ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ पु¥याएको छ । चालु आवमा सुदूरपश्चिम सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको बजेट ल्याएको थियो ।