जलवायु परिवर्तनमा नेपालकाे दाेष छैन, न्याय पाउनुपर्छ : राष्ट्रपति पाैडेल
राष्ट्रपति रामचन्द्र पाैडेलले जलवायु परिवर्तनमा नेपालकाे कुनै दाेष नरहेको र सामाजिक न्याय आवश्यक रहेको बताउनुभएको छ ।
स्विट्जरल्यान्डको जिनेभामा बिहीवार एउटा उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले साे बताउनुभएकाे हाे । राष्ट्रपतिले सामाजिक न्यायमा जलवायु परिवर्तनको प्रतिकूल असर पर्नेतर्फ विश्व समुदायलाई सचेत गराउनुभयाे ।
जलवायु परिवर्तनमा नेपालको कुनै दोष नरहेको चर्चा गर्दै पौडेलले पछिल्ला वर्षहरूमा सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालयले आफ्ना हिउँ गुमाउँदै काला पहाडहरूमा परिणत भइरहेका हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका उल्लेख गर्नुभयाे ।
“जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई मानव जातिलाई चरम गरिबी र असमानतामा धकेलेको छ,” उहाँले भन्नुभयाे ।
“जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ।”
जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र क्षतिपूर्तिको व्यवस्था, आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय सुनिश्चित गरिनुपर्नेमा राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयाे ।
“विश्व समुदाय खास गरेर ठूला उत्सर्जनकर्ताहरू यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन। हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन,” राष्ट्रपतिले भन्नुभयाे ।