आत्महत्याको ग्राफ उकालोतिर, रोकथामकोे ग्राफ ओरालोतिर

मूलखबर संवाददाता
काठमाडौं, ३० जेठ ।

समाजमा आत्महत्याको गफ हेर्ने हो भने निरन्तर उकालोतिर गइरहेको छ भने आतमहत्या रोकथामको ग्राफ भने ओरालोतिर गइरहेको देखिन्छ ।

कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन बिक ऋण तिरेर परिवारलाई सुखले पाल्ने सपना साँचेर वैदेशिक रोजगारीमा जाने तरखरमा थिए । २०७८ भदौ ७ गते राति भएको भयानक घटनाले उनको सपना मात्रै टुङ्गिएन, सुन्दर परिवार नै सखाप भयो । भोलिपल्ट बिहान छिमेकीले रबिन र उनकी २९ वर्षीया पत्नी मिना बिक र आठ महिने छोरी सबिना विकलाई घरभित्रै पासो लागेर मृत्यु भएको दर्दनाक अवस्थामा भेटाए ।

उक्त घटनाको एक वर्ष नबित्दै झापाको कचनकबल गाउँपालिका–५ पाठामारीमा एउटै टोलका तीन किशोरीले सामूहिक आत्महत्या गरे । २०७९ साउन ८ गतेको घटना थियो । घर नजिकैको सुनकोशी चिया बगानमा मजदुरी गर्ने १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जलीप गणेश र १६ वर्षीया कल्पना गणेश दिउँसो एकै समयमा घरबाट सम्पर्कविहीन भए । उनीहरूलाई केही घण्टापछि चिया बगानकै एउटा बयरको रुखको हाँगामा लहरै झुन्डिएर स्वमृत्युवरण गरेको अवस्थामा गाउँलेले फेला पारे ।

कचनकबल–४ मा छ महिनापछि अर्को आत्महत्याको भयानक घटना थपियो । प्रेम विवाह गरेको तीन महिनापछि एक जोडीले २०७९ माघ १० गतेका दिन स्थानीय एभरेस्ट चिया बगानभित्रको रुखमा एउटै पासो लगाएर आफ्नै प्राण हरण गरे । आत्महत्या गरेका जोडी थिए–२५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी । उनीहरूले भागी विवाह गरेको केटी पक्षको परिवारलाई मन परेको थिएन । प्रहरीमा उजुरबाजुर चलेपछि दुवै जना बिछोडिएर आ–आफ्नो घरमा बस्दै आएका बेला अचानक दुवैले आत्महत्याको गलत बाटो रोजे ।

झापामा आत्महत्याको घटना डरलाग्दो रूपमा बढिरहेको छ । पछिल्लो समय कम उमेरका किशोरीहरूले समेत सानो निहुँमा सुन्दर जीवन आफैँ सिद्ध्याएका घटना बढेपछि अभिभावकहरू झस्किन थालेका छन् । एक महिनाको अन्तरालमा दुई किशोरीले आत्महत्या गरेपछि रोकथामका लागि सामाजिक जनचेतना बढाउन गत साता मेचीनगरमा अभिभावकहरूले स्थानीय देवेन्द्र खरेलको संयोजकत्वमा सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन गर्नुपर्‍यो । “आत्महत्याका घटना बढेर अति भइसक्यो, अब चुप लागेर बस्न हुँदैन भन्ने सोचेर सरोकार समिति गठनको निधोमा पुगेका हौँ”–संयोजक खरेल भन्नुहुन्छ ।

आत्महत्याको सिकार भएका व्यक्तिका अभिभावकहरू पनि समितिमा जोडिएका छन् । पीडित अभिभावकका तर्फबाट मेचीनगर–७ का पुष्कर ढकाल, मेचीनगर–६ का जितबहादुर खड्का, मेचीनगर–८ का कृष्ण सुवेदी, मेचीनगर–८ का माण्डु धिमाल र मेचीनगर–६ की विमला दाहाल समितिमा रहनु भएको छ । समितिले मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीलाई भेटेर नगरमा आत्महत्या रोकथामका लागि तत्काल कार्यक्रम ल्याउन माग गरेको छ ।

सत्र वर्षको किशोरी उमेरकी छोरी गुमाएकी पुष्कर ढकाल कम उमेरका बालबालिकालाई आत्महत्याबाट जोगाउन विद्यार्थी, अभिभावक र समुदायमा सचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुहुन्छ । “मैले जसरी अरू कसैले पनि कलिलो उमेरकी छोरी गुमाउनु नपरोस् भनेर म आफैँ जागरण अभियानमा होमिएको छु,” उहाँले भन्नुभयो, “बच्चाहरूसँग हरेक आमाबाबुले नजिक हुनु पर्दोरहेछ । ताकी उनीहरूले आफ्ना दुःख, सुख र समस्याहरू सजिलै सुनाउन सकुन् । परिवार, समाज, जीवन र श्रम के हो भनेर बालबालिकालाई विद्यालय तहमै पढाउन र बुझाउन आवश्यक छ ।”

घटना बढेको बढ्यै

आत्महत्याबाट ज्यान गुमाउनेको तथ्याङ्क कहालीलाग्दो छ । झापामा विगत तीन वर्षमा ८७२ जनाले आत्महत्या गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार आर्थिक वर्ष २०७८र७९ मा तीन सय १४ जनाले आत्महत्या गरेका थिए । जसमा पुरुष २२२ र महिला ९२ जना रहेका छन् । आव २०७९र८० मा ३१७ जनाले आत्महत्या गरेकोमा पुरुष एक सय ८८ र महिला एक सय २९ जना रहेका थिए । चालू आव २०८०र८१ को जेठ १८ गतेसम्ममा दुई सय ४१ जनाले आत्महत्या गरिसकेको सूचना अधिकारी चन्दले बताउनुभयो । जसमा पुरुष एक सय ५९ र महिला ८२ जना रहेका छन् । जिल्लामा दैनिकजसो आत्महत्याका घटना हुने गरेका छन् । देशभरको विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने दैनिक औसत १९ जनासम्मले आत्महत्या गरेको देखिन्छ । आव २०७७र७८ मा देशभर सात हजार १४१ जनाले, आव २०७८र७९ मा सात हजार ९८७ जनाले र आव २०७९र८० मा छ हजार ९० जनाले आत्महत्या गरेका थिए ।-