भक्तपुरका नीजि स्कुल भटाभट बन्द हुँदै, यस्तो छ कारण

मूलखबर संवाददाता
भक्तपुर, १८ जेठ

भक्तपुरमा भटाभट नीजि स्कुलहरू बन्द हुन थालेका छन् ।  नगरपालिकाले अपनाएको शिक्षा र स्वास्थ्य नीति देशका अन्य पालिकाको भन्दा भिन्न र सफल छ ।

नगरपालिकाले नै विशेष प्राथमिकता दिएर स्कुल र स्वास्थ्य संस्था सञ्चालन गर्न थालेपछि भक्तपुरमा स्वास्थ्य र शिक्षा गुणस्तरीय बनेको हो ।

नगरपालिकाको प्राथमिकताका कारण यहाँका सामुदायिक स्कुल सुधार हुन थालेसँगै कतिपय निजी स्कुल बन्द र स्थानान्तरण हुन थालेका समाचार नयाँ पत्रिकामा शिवहरि घिमिरेले लेखेका छन् ।

समाचारमा भनिएको छ, – पछिल्लो आठ वर्षयताको तथ्यांक हेर्दा भक्तपुर नगरपालिकाभित्र मात्रै १५ वटा निजी (संस्थागत) स्कुल बन्द भइसकेका छन् । बन्द भएका बोर्डिङ स्कुल क्षेत्रका सामुदायिक विद्यालयमा भने विद्यार्थी बढेका छन् । कुनै वेला निजी स्कुलको घेराबन्दीमा परेर विद्यार्थी नपाउने अवस्थामा पुगेका सामुदायिक विद्यालयलाई अचेल विद्यार्थी कसरी व्यवस्थापन गर्ने भनेर हम्मे–हम्मे परेको छ । नगरभित्र रहेका बागिश्वरी मावि, वासु मावि, सरस्वती विद्यागृह, गणेश मावि, शारदा माविलगायत सामुदायिक स्कुलमा विद्यार्थी संख्या हरेक वर्ष बढ्दै गइरहेको छ ।

बागिश्वरी माविका कक्षा ११ र १२ का इन्चार्ज ज्ञानसागर प्रजापतिका अनुसार भक्तपुुरमा निजी स्कुल सुक्दै र सामुदायिक स्कुल फुक्दै गइरहेका छन् । ‘यहाँका सामुदायिक स्कुल फस्टाउँदै गइरहेका छन्, निजी स्कुल अन्यत्र सर्ने र बन्द हुने क्रम बढेको छ,’ उनले भने, ‘कुनै वेला विद्यार्थी नभएर अप्ठ्यारोमा परेका सामुदायिक स्कुलहरूमा अहिले क्रमशः विद्यार्थी बढ्दै छन् ।’

बन्द भएका विद्यालयहरू-

  • चम्पक स्कुल, दुवाकोट : ०८१ मा बन्द 
  • स्कलर होम स्कुल, महालक्ष्मीस्थान थालाछें : ०८१ मा बन्द 
  • जेनिठ स्कुल, बाराहीस्थान : ०८१ मा स्थानान्तरण 
  • कालिका सेकेन्डरी स्कुल, कमलविनायक : ०७८ मा बन्द 
  • जनता इंग्लिस स्कुल, नागपोखरी : ०७७ मा बन्द 
  • सिद्धि ग्लोरियस स्कुल, इनाचो : ०७५ मा बन्द 
  • हात्तीहोम स्कुल, दागाचा जगाती : ०७४ मा बन्द 
  • जुन इंग्लिस स्कुल, व्यासी : ०८१ मा बन्द 
  • निलोजिय स्कुल, कमलविनायक : ०७७ मा बन्द 
  • तारा माउन्ट स्कुल, ग्वाछें नवदुर्गास्थान : ०७३ मा बन्द 
  • फ्युचर स्टार स्कुल, बाराहीस्थान : ०८१ मा स्थानान्तरण 
  • एकता इंग्लिस स्कुल, कमलविनायक : ०७३ मा बन्द 
  • रोशनपूर्व स्कुल, सिर्जनानगर : ०७८ मा बन्द 
  • सिरिङ्केन इंग्लिस स्कुल, कालीघाट व्यासी : ०८१ मा बन्द 
  • इजिपायनियर स्कुल, इटाछें : ०८१ मा स्थानान्तरण 
  • दरबार शिशु स्याहार स्कुल, व्यासी : ०८१ मा बन्द 
  • एक्टिभ इंग्लिस बोर्डिङ स्कुल, व्यासी : ०८१ मा बन्द 
  • मम्टी बोर्डिङ स्कुल, व्यासी : ०७४ मा बन्द